१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मनाङमा परम्परागत खेलकुद: ताराखेलमा म्याग्दी च्याम्पियन

हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल (धनुषवाण) ऐतिहासिक हो। ऐतिहासिक खेलको प्रवर्द्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ।  

धनुषवाण खासगरी हतियारको रुपमा प्रयोग गरिन्थ्यो । विस्तारै हतियारबाट प्रदर्शनको रुपमा अगाडि बढ्यो। खास गरी छन्त्याल समाज, थकाली सेवा समिति, मगर, मार्फा थकाली समाज, तीन गाँउले थकाली, पुन समाज, ताङ्वे सेवा समाज, बाह्रगाँउले, छुसाङ, गुरुङ लगायतका जातिले ताराखेल खेल्ने गरेका छन्। त्यसपछि खेलको रुपमा विकास हुन पुग्यो।  

परम्परागत खेलको विकास, संरक्षण र प्रवद्र्धन गर्ने जमर्को गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले शुरु गरेको हो। मनाङको ङिस्याङ गाउँपालिका– ६स्थित मनाङमा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा दुईदिने प्रतियोगिता आयोजना गरिएको हो।  

प्रतियोगितामा कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ, मुस्ताङका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन्। ३६ जना खेलाडी प्रतिस्पर्धा गरेका थिए। प्रत्येक टिममा ५ जनाले दशडोर प्रहार गरेका थिए। दश डोर प्रहारबाटै खेलाडीले प्राप्त गरेको अंकको आधारमा विजेता घोषणा गरिएको थियो।  

प्रतियोगितामा म्याग्दी जिल्ला च्याम्पियन बनेको छ। म्याग्दीले ८८ स्कोर जोड्दै नगद ५० हजार राशीको पुरस्कार प्राप्त गर्दा कास्की जिल्ला भने दोस्रो स्थानमा रह्यो। कास्कीले ८३ स्कोर ल्याएको थियो। मुस्ताङ ७० स्कोर सहित तेस्रो हुन पुग्यो। कास्की नगद ३० हजार र मुस्ताङले २० हजार रुपैयाँ प्राप्त गरे। दुई दिने प्रतियोगितामा बेष्ट स्कोर म्याग्दीका कृष्ण घर्ती मगर र सर्वाधिक खोल हान्ने बाग्लुङका प्रवीण श्रेष्ठ घोषित भएको प्रतियोगिताका संयोजक एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जानकारी दिए। उनीहरुले क्रमश नगद ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका थिए।  

प्रतियोगितामा बाँसको सिंगलपिसको धनु र नियालोको बाँण प्रयोग गरिएको थियो। परम्परागत नियम अनुसार ३० मिटरको दुरीमा प्रहार गरेर प्रतियोगिता खेलाईएको संयोजक शेचरनले बताए। प्रतियोगितामा नेपाल आर्चरीका राष्ट्रिय निर्णायक दलमान छन्त्याल, भीमबहादुर पुन, सन्जिवमान तुलाचनले प्रतियोगिता सञ्चालन गरेका थिए। प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका उपसचिव घनश्याम पौडेल, गण्डकी खेलकुद परिषदका सदस्य योगेन्द्र गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए।  

प्रकाशित: १० वैशाख २०७९ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App