coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भुवनलाई उपाधि

भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा भुवनले जयराम श्रेष्ठमाथि चार स्ट्रोकको सफलतासहित उपाधि जितेका हुन्। यससँगै उनले यस सिजनको दोस्रो र करियरको १०औं उपाधि उचाले। नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवनले समग्रमा १३ अन्डर २५९ कार्ड बटुले। अन्तिम दिन उनले दुई अन्डर ६६ स्कोरमा खेले। सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत छैटौं संस्करणको च्यालेन्जमा जयरामले ९ अन्डर २६३ स्कोरसहित दोस्रो स्थानको सफलता प्राप्त गरे।

भुवनले ट्रफीसहित एक लाख र जयरामले ६५ हजार रूपैयाँ नगद पुरस्कार पाए। सञ्जय लामा तेस्रो स्थानमा रहँदा दिनेश प्रजापति तथा रामे मगर संयुक्त रूपमा चौथो भए। अन्तिम चरणमा इभन पार–६८ मा खेलेका सञ्जयले समग्रमा ६ अन्डर २६६ को कार्ड बनाए। दिनेश र रामेले भने समग्रमा पाँच अन्डर २६७ स्कोर बटुले। यी दुवैले समान ३६ हजार रूपैयाँ पुरस्कार पाए। धनबहादुर थापा (६८) कुल २ सय ६८ स्कोरसहित छैटौं स्थानमा रहे। उनले ३० हजार रूपैयाँ जिते। तीन प्रो. गल्फर भुवनकुमार रोक्का (७६), दीपक मगर (७३) र नीरज तामाङ (७१) ले समग्रमा दुई अन्डर २७० स्कोरसहित संयुक्त सातौं स्थानमा रहे।

यी तीनैले समान २४ हजार तीन सय ३३ रूपैयाँ जिते। अन्तिम दिन एक अन्डर ६७ प्रहार गर्दै रवि खड्का समग्रमा इभन पार २७२ स्कोरसहित दशौं स्थानमा रहे। उनले २० हजार रूपैयाँ जिते। एमेच्योरतर्फ सुवास तामाङले समग्रमा पाँच अन्डर २६७ स्कोरसहित सफलता पाए। अन्तिम दिन एक ओभर ६९ मा खेलेका सुवास समग्रमा भने चौथोमा खुम्चिए। सुरेश तामाङ (७३) ले कुल २९१ बटुल्दै दोस्रो स्थान प्राप्त गर्दा गजेन्द्र गुरुङ कुल २९२ स्कोरसहित तेस्रो स्थानमा रहे।

३८ प्रोफेसनल र २२ एमेच्योरसहित कुल ६० गल्फरले ७२ होलमा प्रतिस्पर्धा गरेका थिए। नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा शीर्ष २१ प्रो. गल्फरले नगद पुरस्कार पाए। विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर रजत थापा र एसोसिएसनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: १० वैशाख २०७९ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App