२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जेठ २२ देखि नवौं राष्ट्रिय खेलकुद

लामो इतिहास बोकेका नेपालको राष्ट्रिय खेलकुदको नवौं संस्करण आगामी जेठको चौथो सातादेखि सुरु हुने भएको छ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने प्रावधान छ। तथापि, पहिलो तीन संस्करणबाहेक त्यसपछिका हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना हुन सकेन। 

गत संस्करण नेपालगन्जमा २०७६ साल वैशाखमा सम्पन्न भएको थियो। आठौं खेलकुद समापन समारोहमा नै २०७७ फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौं संस्करण आयोजना गर्ने लक्ष्यसहित झन्डा हस्तान्तरण गरिए पनि महामारी र अन्य कारणले सम्भव हुन सकेन।

गत मंसिरमा राखेप सदस्यसचिव टंकलाल घिसिङको नियुक्तिकै दिन उनले नवौं राष्ट्रिय खेलकुदको आयोजना छिटै गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तथापि, उनको नियुक्ति प्रक्रिया अदालतमा परेसँगै करिब चार महिना अवरोध हुन पुग्यो। गत २२ गते सर्वोच्च अदालतको फैसलाद्वारा घिसिङ जिम्मेवारीमा फर्किएसँगै राष्ट्रिय खेलकुद आयोजनाको तयारी अगाडि बढ्ने संकेत देखिएको थियो। 

सोहीअनुरूप बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद जेठमा आयोजना गर्ने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्ताव पास गरेसँगै नयाँ वर्ष खेलकर्मीका लागि सुखद हुने भएको छ।

‘मन्त्री भइसकेपछि मेरो कार्यसूचीको प्राथमिकताभित्रका चारवटा योजनामध्ये नवौं राष्ट्रिय खेलकुदलाई समयमा आयोजना गर्ने लक्ष्य थियो। आउनेबितिक्कै बजेट र कार्यविधि बनाएर अगाढि बढिरहेको थिएँ। तर, अदालती प्रक्रियाका कारण सबै अवरुद्ध हुन पुग्यो,’ युवा तथा खेलकुदमन्त्री गहतराजले भने,‘तथापि, यो वर्षको खेलाडी र खेलकर्मीका लागि सुखद सन्देश प्रवाह गर्न सक्यौं र जेठमा नवौंको आयोजनाको मिति तोक्यौं।’

चीनमा आयोजना हुने १९औं एसियाडमा नेपाली खेलाडीको तयारी राम्रो गरेर पठाउनका लागि पनि जेठमा नै नवौं राष्ट्रिय खेलकुदको आयोजना आवश्यक रहेको मन्त्री गहतराजले बताए। आगामी सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा १९औं एसियाड हुँदै छ। त्यसैले त्यसको तयारीका लागि करिब पाँच महिनाको समय बाँकी छ। सोही एसियाडमा समयमा नै खेलाडी पठाउने योजनासहित स्थानीय निर्वाचनका बावजुद कठिन परिस्थितिमा सरकारले खेल आयोजना गर्ने निर्णय गरेको छ।

‘अन्तर्राष्ट्रिय खेल समुदायले विश्वास गर्ने वातावरण सिर्जना गर्न समयमा नै नवौं सम्पन्न गरेर खेलाडीको नाम एसियाड पठाउनुपर्ने हाम्रो जिम्मेवारी भएकाले जेठमै आयोजना गर्ने गरी मिति तोक्यौं। 

एसियाडमा कस्ता खेलाडी र कसरी सहभागी भए भन्ने प्रश्न उठ्ने भएकाले पनि नवौं राष्ट्रिय खेलकुद आयोजना आवश्यक छ,’ मन्त्री गहतराजले भने, ‘देशको इज्जतसँग जोडिएका विषय भएकाले निर्वाचनले खासै असर गर्दैन। आवश्यक बजेटका लागि पनि अर्थ मन्त्रालयसँग परामर्श भइसकेको छ।’ मन्त्री गहतराजले मन्त्रिपरिषद्को निर्णय भएकै दिन राखेप उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव घिसिङसँग बैठक बसेर छिटै तयारी थाल्न निर्देशन दिएको उल्लेख गरे।

प्रकाशित: १ वैशाख २०७९ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App