९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

ब्रुयनाले दिलाए सिटीलाई सफलता

७०औं मिनेटमा केभिन डी ब्रुयनाको निर्णायक गोलको सहयोगमा मंगलबार म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको पहिलो क्वार्टरफाइनल लेगमा सुखद नतिजा निकालेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीको धैर्यताको सम्मान गरेका छन्।

घरेलु मैदानमा भएको खेलमा सुरुआतमा दबाब खेपे पनि टोलीले सम्हालिएको प्रदर्शन गर्दै रोमाञ्चक जित निकालेको हो। वैकल्पिक खेलाडीका रूपमा रहेका फिल फोडेनलाई मैदान प्रवेश गराएसँगै रणनीतिक हिसाबमा बलियो भएको सिटीले फोडेनकै पासमा सफलता प्राप्त गरेको हो। भ्रमणकारी टोलीले हामीलाई दबाब दिएर खेले पनि हामीले धैर्यतापूर्वक स्वाभाविक खेल प्रदर्शन गर्दा सफलता मिलेको प्रशिक्षक ग्वार्डिओलाले बताए।

‘फराकिलो अन्तरमा जित निकालिन्छ भनेर सोचेको थिइनँ। सोचेको भन्दा फरक खेल भयो। पछिल्लो समय हामीले फराकिलो जित निकाल्न सकेका छैनौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘एट्लेटिकोले हाम्रो रणनीतिलाई रक्षा गर्न सफल भयो। प्रतिस्पर्धात्मक खेल हामीले खेल्यौं। यद्यपि हामीले धैर्यतापूर्वक स्वाभाविक खेल प्रदर्शन गर्दा सफलता मिल्यो। थप गोलका लागि अवसर भए पनि सदुपयोग गर्न चुक्यौं। जितले मनोबल बढेको छ।’

यस जितसँगै सिटीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। एट्लेटिकोलाई भने दोस्रो लेगमा जित्नैपर्ने बाध्यता भएको छ। यता सिटीसँगको हारपछि एट्लेटिकोको ६ खेलदेखिको अपराजित यात्राको पनि अन्त्य भएको छ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा भ्रमणकारी टोली लिभरपुलले बेन्फिकामाथि क्वार्टरफाइनल पहिलो लेगमा ३–१ को सहज जितसहित सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको छ। योर्गान क्लोपको टोलीले इब्राहिम कोटाने र साडियो मानेको समान एक गोलमा पहिलो हाफमै २–० को अग्रता लिएको थियो। दोस्रो हाफको सुरुआतमै डार्विन नुनेजको गोलमा बेन्फिकाले खेलमा फर्कने संकेत गरेको थियो। तर लुइस डियाजको गोलमा लिभरपुलले सहज जित पक्का गरेको हो।

सुरुआतबाट नै दबाब दिएर खेलेको लिभरपुलले १७औं मिनेटमा एन्डी रोबर्टसनको कर्नरमा कोनाटेले हेडर गोलमा लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ३४औं मिनेटमा मानेले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासलाई सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। ४९औं मिनेटमा नुनेजले गरेको गोलमा बेन्फिकाले खेलमा फर्कने संकेत गरेको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा डियाजले लिभरपुलका लागि तेस्रो गोल गरेपछि लिभपुललाई ३–१ को सफलता मिलेको हो।

पहिलो हाफको अन्तिममा मोहम्मद सालाहले वान भर्सेस वानमा गोल गर्न नसकेको अवस्थालाई बयान गर्दै प्रशिक्षक योर्गान क्लोपले सबै अवस्थामा गोल गर्न कठिन हुने बताए।

‘त्यो अवस्थामा सबै खेलाडीले स्कोर गर्न सक्नुपर्छ। यद्यपि कहिलेकाहीं गल्ती हुन्छ,’ स्ट्राइकर सालाहलाई रक्षा गर्दै प्रशिक्षक क्लोपले भने, ‘अहिले कठिन अवस्था छ। अफ्रिकी छनोटबाट भरखरै आएका छन्। आराम पर्याप्त छैन तर दबाब छ। स्वाभाविक लयमा फर्किन केही समय लाग्छ। छिट्टै लयमा आउनेछन्।’

जित निकालेको लिभरपुलले सन् १९८४ पछि च्याम्पियन्स लिगमा बेन्फिकालाई पहिलो पटक हराएको हो। यसअघिका तीन भेटमा लिभरपुलले जित निकाल्न असफल रहेको थियो। जितपछि लिभरपुलको सबैखाले प्रतियोगिता गरी यो लगातार आठौं अवे जित हो।

प्रकाशित: २४ चैत्र २०७८ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App