२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जित आर्थिक संकटबाट गुज्रिरहेकालाई मुस्कान

‘हामी अहिले चरम आर्थिक संकटबाट गुग्रिरहेका छौं। आजको जितले सम्भवतः श्रीलंकन नागरिकहरूको मुहारमा केही मुस्कान आएको हुनुपर्दछ,’ एएफसी कपको प्रारम्भिक चरणमा नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेपछि ब्लु स्टार एफसीका प्रशिक्षक बान्डा साम्राकनले खेलपछिको पत्रकार सम्मेलनमा भने।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एएफसी कप छनोट–२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलमै श्रीलंकन टोली ब्लु स्टारसँग २–१ गोलले पराजित भएपछि मच्छिन्द्रको अघिल्लो चरणको यात्रा टुङ्गिएको छ। दशरथ रंगशालामा नै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै उपाधि उचालेको मच्छिन्द्रले घरेलु मैदानको फाइदा उठाउन सकेन। सुरुआती १० मिनेट भ्रमणकारी टोलीमाथि हाबी हुँदै खेलेको मच्छिन्द्रले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न चुकेको थियो।

सुरुआत प्रतिस्पर्धात्मक बनेको खेलमा पाहुना टोली ब्लु स्टारले २५औँ मिनेटमा मोहमेद इसानको गोलबाट अग्रता लिएको थियो। मोहमद फजलले क्विक फ्रिकिकबाट प्राप्त पासलाई सदुपयोग गर्दैै इसानले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेट नबित्दै शेनल सन्देशले अग्रता दोब्बर बनाए। रञ्जित धिमालले पेनाल्टी क्षेत्रनजिक भएको बाउन्स बललाई राम्रोसँग क्लियर गर्न नसक्दा सन्देशले दायाँ भागबाट हानेको सशक्त प्रहारले सोझै गोलपोस्टको दिशा लिएको थियो।

यसअघि आठौं मिनेटमा विमल घर्तीमगरले उपलब्ध गराएको पास सुजल श्रेष्ठलाई अवसर भए पनि रेफ्रीले अफसाइडको संकेत दिएका थिए। १५औँ मिनेटमा एरेपेड ओमबेबे पेनाल्टीमा गोल गर्न चुक्दा ब्लु स्टारले अग्रता लिने मौका गुमाएको थियो। मच्छिन्द्रका रक्षक देवेन्द्र तामाङले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई मच्छिन्द्रका गोलकिपर विशालले बचाएका थिए। त्यसपछि दबाब झेलेको घरेलु टोलीले केही प्रयास गरे पनि असफल बन्यो।

३८औँ मिनेटमा देवेन्द्र तामाङले हानेको प्रहार ब्लु स्टारका गोलकिपर लकप्रिया फर्नान्डोले उत्कृष्ट बचाउ गरे। ४९औँ मिनेटमा सुनील बलको फ्री किक पनि फर्नान्डोले मुस्किल बचाउँदा ६७औँ मिनेटमा वैकल्पिक खेलाडी अभिशेक रिजालको क्रसमा विमल घर्तीमगरको हेड बारमा लागेर फर्कियो। रिबाउन्डमा प्राप्त बलमा छिरिङ गुरुङले हानेको कडा प्रहार पनि बारमा लागेर फर्किएपछि मच्छिन्द्रले पुनरागमनको मौका गुमाएको थियो।

७७औँ मिनेटमा रञ्जित धिमालको क्रसमा ६ यार्ड बक्सभित्र रहेका सुजल श्रेष्ठले गरेको हेडिङ मैदानमा ठोक्किएर अकासिएपछि मच्छिन्द्रले अर्को मौका गुमाएको थियो। इन्जुरी समयमा सुजलले गोल फर्काए पनि मच्छिन्द्रलाई खेलमा फर्किन त्यो धेरै ढिला भइसकेको थियो।

बहुप्रतीक्षित प्रतियोगिताको रूपमा तयारी गरेको मच्छिन्द्रको अघिल्लो चरणको यात्रा समाप्त हुँदा प्रशिक्षक प्रवेश कटवालले राम्रा अवसरलाई अग्रपंक्तिले गोल गर्न नसक्दा पराजित भएको बताए।

‘आज खेलमा हामीले राम्रो प्रदर्शन गरेको हो। गोल मात्र नभएको हो। जितका लागि गोल आवश्यक पर्छ, त्यो हुन सकेन,’ खेलपछिको पत्रकार सम्मेलनमा कटवालले भने, ‘गोल गर्न सक्ने फरवार्ड लोनमा ल्याउन खोजेको हो। तर एनएसएलले गर्दा ल्याउन सकेनौं। राम्रा विदेशी खेलाडी एनएसएलले छाड्न मानेन। पछि परेसँगै खेलमा फर्किन कठिन भयो। विदेशी खेलाडीले पनि सोचेजस्तो राम्रो प्रदर्शन गर्न सकेनन्।’

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि मच्छिन्द्र पछिल्लो समय खराब नजितबाट गुज्रिरहेको छ। केही मोफसलका खेलमा पनि मच्छिन्द्रले फितलो प्रदर्शन गरेको थियो। मोफसलका दुई प्रतियोगिता खेलको मच्छिन्द्रले एएफसी कपमा पनि विजयी नतिजा निकाल्न असफल रह्यो। जसका कारण मच्छिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिन पुगेको छ।

प्रकाशित: २३ चैत्र २०७८ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App