१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

शीर्ष डिभिजन सपना साकार

बाँसबारी युथ क्लबविरुद्ध जित हात पारेपछि चर्च ब्वाइजका खेलाडी । तस्बिर सौजन्यः एन्फा

सनम राई २०७३ सालमा च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा हुँदा टोलीका प्रमुख सदस्य थिए।

राईलाई शीर्ष डिभिजन खेल्ने लामो समयदेखिको सपना साकार हुने भयो भन्ने लाग्यो। तर च्यासलले ‘ए’ डिभिजन खेल्दा टोलीमा उनलाई समावेश गरेन। उनी सो सिजन ‘बी’ डिभिजनमा बढुवा हुँदा टोलीबाट एक खेलमा मात्र अनुपस्थित थिए। उनको शीर्ष डिभिजन खेल्ने लक्ष्यले पूर्णता पाएन। तर उनले हार मानेनन्।

त्यसपछि उनी ‘सी’ डिभिजनका लागि संघर्ष गरिहेको चर्च ब्वाइज युनाइटेडमा आबद्ध भए। लगातार पाँच पटकको प्रयासमा पनि चर्च ब्वाइजले ‘सी’ डिभिजनमा स्थान बनाउन सकेको थिएन। २०७६ सालमा अन्ततः चर्च ब्वाइजले ‘सी’ डिभिजनमा स्थान बनायो। ‘सी’ डिभिजनमा उक्लिएको पहिलो सिजन नै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले मंगलबार बाँसबारी युथ क्लबलाई ५–१ ले पराजित गर्दै ‘बी’ डिभिजनको विजेता बन्दै शीर्ष डिभिजनको टिकट काट्यो। जसको कप्तानी उनै राईले गरिरहेका थिए। अन्ततः उनको शीर्ष डिभिजन खेल्ने लक्ष्य साकार हुने भएको छ। चर्च ब्वाइजको जितमा साइमन राईले ४ गोल गर्दा आशिष चौधरीले थप एक गोल गरे। बाँसबारीका लागि सञ्जीव धिमालले एक गोल फर्काए।

‘सी’ डिभिजनबाट ‘बी’ बढुवा भएको दुई वर्षमै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। संयोग नै भन्नुपर्ला, राईको कप्तानीमा चर्च ब्वाइजले शीर्ष डिभिजनमा स्थान बनाउँदा च्यासल युथ क्लबले भने यसै सिजन ‘ए’ डिभिजनको हैसियत गुमाएको थियो।

‘म र मेरो भाइ संजोग राई सानोबाटै फुटबलमा आकर्षित थियौं,’ राईले भने, ‘मेरो पनि एन्फा एकेडेमीमा छनोट हुने लक्ष्य थियो तर म एकेडीमा छनोट भने हुन सकिनँ। संजोग भने एकेडेमीमा छनोट भयो। मलाई खुसी लागेको छ। अब हामी दाजुभाइ नै नेपालको शीर्ष डिभिजन खेल्दै छांै। यो खुसीको क्षण म शब्दमा वर्णन गर्न सक्दिनँ।

म च्यासल ‘बी’ डिभिजनको विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा हुँदा टोलीको सदस्य थिएँ। तर मलाई क्लबले शीर्ष डिभिजन खेल्दाको टोलीमा भने राखेन। मलाई निकै दुख लागेको थियो। क्लबले एउटा खेलाडीको मिहिनेतको कदर गरेन जस्तो लाग्यो। मैले हिम्मत हारिनँ। आज त्यो सपना साकार भएको छ। यो मेरो एकल प्रयासले भएको होइन। आजको सफलता क्लबले गरेको लगानी र खेलाडीको मिहनेतका साथै शीर्ष डिभिजन खेल्ने इच्छाशक्तिको समिश्रण हो।’ राई आफूलाई चर्च ब्वाइजका अध्यक्ष रुबेन राईले दिएको जिम्मेवारी पूरा गरेको बताउँछन्।  

‘म निरोज दाइमार्फत चर्च ब्वाइज क्लबको सम्पर्कमा आएको हुँ,’ उनले भने, ‘मलाई क्लबमा आउनासाथ रुबेन दाइले कप्तानको जिम्मेवारी दिनुभयो। उहाँले सुरुआती दिनबाटै हाम्रो लक्ष्य ‘ए’ डिभिजनमा उक्लिने रहेको बताउनुहुन्थ्यो। हामीले पनि त्यहीअनुरूप मिहिनेत गर्‍याैँ। क्लबले हामीमाथि विश्वास गरिरह्यो। आज हामीले क्लबले हामीमाथि देखाएको विश्वासलाई प्रमाणित गरेका छाैँ।’

राईसँगै चर्च ब्वाइजको ‘सी’ देखी ‘ए’ डिभिजन बढुवाको यात्रासम्ममा कुवेर न्यौपाने, विष्णु गुरुङ र साइमन राई निरन्तर टोलीसँगै रहे।  

क्लबका म्यानेजर तथा अध्यक्ष रुबेन टोली सफलताको सबैभन्दा ठूलो श्रेय यी चार खेलाडीलाई दिन चाहन्छन्। जो निरन्तर क्लबको सारथिका रूपमा रहिरहे। साथै उनले क्लबलाई सुरुआती दिनबाटै निरन्तर साथ दिइएरहेका थ्री स्टारका कप्तान विक्रम लामालाई पनि धन्यवाद दिए।

‘हामी २०६६ सालमा ललितपुर जिल्ला खेलकुद परिषद्मा दर्ता भयौं,’ रुबेनले भने, ‘५ पटकको प्रयासपछि मात्र हामी ‘सी’ डिभिजनमा छनोट भयाैँ। गत वर्ष हामी ‘सी’ डिभिजनको विजेताका हैसियतमा ‘बी’ डिभिजनमा उक्लियौ। यस सिजन ‘बी डिभिजनको विजेताका रूपमा ‘ए’ डिभिजनमा उक्लिएका छांै। लामो समयदेखि हामीले देख्दै आएको सपना साकार भएको छ।

फुटबल मनबाट खेल्नुपर्छ। हाम्रो टोलीले त्यही गर्‍यो। क्लबको ‘सी’ डिभिजन यात्रादेखि निरन्तर हामीसँगै रहने कप्तान सनम राई, कुवेर न्यौपाने, विष्णु गुरुङ र साइमन राईलाई विशेष धन्यवाद दिन चाहन्छु। अन्य खेलाडीले पनि त्यत्तिकै मिहिनेत गरे। सबैलाई धन्यवाद दिन चाहन्छु।’ रुबेनले टोलीको अबको लक्ष्य भनेको ‘ए’ डिभिजनमा आफ्नो क्षमता प्रमाणित गर्ने रहेको बताए।  

यस सिजन ‘बी’ डिभिजनको सुरुआतबाटै बलियो पकड बनाएको चर्च ब्वाइजले १२ खेलमा ८ जित, २ हार र २ जितपछि २६ अंकसहित एक खेलअगावै विजेताको हैसियत बनाउँदै ‘ए’ डिभिजनमा उक्लियो। ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लिने दौडमा अब रानी पोखरी टिम (आरसिटी) रहेको छ। जसले मंगलबारै सम्पन्न खेलमा तेस्रो स्थानको सरस्वती युथ क्लबमाथि २–१ को जितसहित शीर्ष डिभिजनमा पुनरागमनको सम्भावना बलियो पारेको हो।

दोस्रो स्थानको आरसिटीको १२ खेलमा २१ अंक छ भने तेस्रो स्थानको सरस्वतीको १७ अंक रहेको छ। ११ खेलमा १६ अंक जोडेको खुमलटार भने चौथो स्थानमा छ।

प्रकाशित: २३ चैत्र २०७८ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App