अलराउन्डर दीपेन्द्रसिंह ऐरीको शृंखलाभर उच्च प्रदर्शन जारी रहेपछि नेपालले सोमबार घरेलु भूमिमा ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।
दीपेन्द्रले ट्वान्टी–२० आईमा एक हजार रनको कोसेढु्ंगा पार गरेको दिन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान साक्षी बन्यो। जहाँ नेपालले फाइनलमा पपुवा न्युगिनी (पिएनजी) लाई ५० रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० शृंखला पनि उचाल्यो।
ब्याटिङसँगै बलिङमा पनि सनसनीपूर्ण प्रदर्शन गरेपछि फाइनल दीपेन्द्रमय भयो। दीपेन्द्रकै अर्धशतकीय प्रेरणामा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रनको लक्ष्य प्रस्तुत ग¥यो। उनले बलिङमा पनि सनसनी खेल देखाउँदै चार विकेट लिएपछि पिएनजी १६.१ ओभरमा १ सय १८ रनमै रोकियो।
यस क्रममा दीपेन्द्रले पिएनजीका कप्तान असाद भाला (८ रन), चाल्र्स अमिनी (१५ रन) र टोनी उराजस्ता महत्वपूर्ण ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाए। उनको चौथो सिकारका रूपमा चाड सोपर १ रनमै आउट भए। दीपेन्द्रले चार ओभरमा १८ रन मात्र खर्चिए। उनी प्लेयर अफ दी फाइनल र प्लेयर अफ दी म्याच दुवै भए।
शृंखलाको पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित उनी सर्वाधिक (२ सय ५५ रन) रन बटुल्ने ब्याट्सम्यान भए। उनले मलेसियाविरुद्ध १ सय १० रन बनाएका थिए, जुन नेपालबाट ट्वान्टी–२० सर्वाधिक ठूलो व्यक्तिगत स्कोर पनि हो। उनले शृंखलामा सात विकेट पनि लिए।
शृंखलाभर अपराजित नेपाल ट्वान्टी–२० क्रिकेट शृंखलाको च्याम्पियन बन्दा दीपेन्द्रको प्रदर्शन यादगार रह्यो। फाइनलमा पनि दीपेन्द्रले नेपालका लागि कयौं व्यक्तिगत रेकर्ड बनाए। यसै खेलमार्फत ट्वान्टी–२० क्रिकेटमा उनी एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी भए। त्यसबाहेक कुशल भुर्तेलसँगै नेपालबाट ट्वान्टी–२० मा सर्वाधिक पाँच अर्धशतक बनाउने सूचीमा पनि दीपेन्द्र समावेश भए। तीन वर्ष २ सय ४९ दिन लगाएर ३४ इनिङमा दीपेन्द्रले हजार रनको कोसेढुंगा पूरा गरे।
दीपेन्द्रले एक हजार ३३ रन बटुल्दा एक शतक र पाँच अर्धशतक प्रहार गरे। उनले आक्रामक ब्याट्सम्यान क्रिस गेल र केन विलियम्सनको रेकर्ड पनि बराबरी गरे। यी दुईले पनि ३४ इनिङमै एक हजार रनको आँकडा पूरा थिए। त्यसअघि दीपेन्द्रकै अर्धशतकीय प्रेरणामा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रनको सम्मानजनक योगफल बनायो। एक समय कमजोर रहेको नेपालको इनिङमा दीपेन्द्रले करण केसीसँग मिलेर इनिङको अन्त्यसम्म ब्याटिङ गरे। ३८ बलमा दीपेन्द्र ५४ रनमा नटआउट रहँदा पाँच चौका समावेश रह्यो।
पावरप्लेमा ४४ रन बटुल्दा नेपालले कुशल भुर्तेल (२५ रन) र रोहित पौडेल (२ रन) लाई गुमायो। त्यसपछि सुस्त गतिमा रन बटुलेको नेपाल १२औं ओभरमै तीन विकेट पतनपछि थप दबाब पर्यो। पिएनजीका बलर सेमो कमियाले ओपनर आसिफ शेख २९ रनमा, आरिफ शेख र दिलीप नाथलाई शून्यमै पवेलियन फर्काए। त्यस समय नेपाल १२औं ओभर समाप्तिमा ८२–५ को नाजुक अवस्थामा पुग्यो। त्यससँगै दबाबमा परेको नेपाल सस्तैमा रोकिने अनुमान थियो। तर, अन्तिम तीन ओभरमा नेपालले ४२ रन बटुल्यो। यस क्रममा करणले आक्रामक ब्याटिङ गरे।
१२ बलमा पाँच चौका र एक छक्कासहित करण ३३ रनमा नटआउट रहे र नेपालले सम्माजनक योगफलत खडा गर्यो। तर, बलिङमा पनि नेपालले राम्रो प्रदर्शन गरेपछि पिएनजी सस्तैमा रोकियो। करणले पनि अलराउन्ड प्रदर्शन गर्दै तीन विकेट लिए। शृंखलामा सर्वाधिक १३ विकेट लिएका करण उत्कृष्ट बलर घोषित भए। उनले सन्दीपलाई दुई विकेटले पछि पारे। फाइनलमा सन्दीपले दुई विकेट लिए। पिएनजीले दशौं विकेट रनआउटको रूपमा गुमायो। पिएनजीका लागि मध्यक्रमका ब्याट्सम्यान सेस बाउले सर्वाधिक ५९ रन बटुले।
करणको बलमा आउट हुनुअघि उनले एक चौका र ६ छक्का हिर्काए। चाल्र्स अमिनीले १५ रनबाहेक पिएनका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् र सन्दीपको कप्तानीमा नेपालले पहिलो उपाधि पनि उचाल्यो।
घरेलु भूमिमा नै पिएनजीसँग दुई खेलको एकदिवसीय शृंखला गुमाएको नेपालले मलेसिया पनि सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटको उपाधि उचाल्दै आत्मविश्वास बटुल्यो। सन्दीपले यो जितले भविष्यमा ठूलो मद्दत पुग्ने बताए। साथै उनले यो उपलब्धि समग्र टिमको प्रदर्शनका कारण सम्भव भएको पनि प्रतिक्रिया दिए।
प्रकाशित: २२ चैत्र २०७८ ०१:३५ मंगलबार