१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो सफलता

ओपनर आसिफ शेखको अर्धशतकीय प्रेरणामा नेपालले मलेसियासँगको ट्वान्टी–२० क्रिकेटमा बुधबार छ विकेटको जित निकाल्दै त्रिकोणात्मक शृंखलामा दोस्रो सफलता निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १ सय १५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। पपुवा न्युनिगी (पिएनजी) र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलामा दुई खेल सकिँदा नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै फाइनलनजिक पुगेको छ। मलेसियालले एक जित निकाल्दा पिएनजी जितविहीन छ। शीर्ष दुईले फाइनल खेल्नेछन्। नेपालको जितमा ओपनर आसिफले ५७ रनको इनिङ खेल्दा ३७ बलमा सात चौका र एक छक्का हिर्काए।

त्यसअघि निकै खराब सुरूआत गरेको नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई १ रनमा गुमायो। त्यसपछि घरेलु टोलीले समालिने प्रयास गर्‍यो। तर, थप २४ रन जोड्दा नेपालले दोस्रो विकेट पनि गुमाउन पुग्यो। पछिल्ला समय लयमा रहेका रोहित पौडेल पनि १२ रनमा एलबिडब्लु सिकार भए। यी दुवैलाई मलेसियाका पवनदीप सिंहले पवेलियनको बाटो देखाए। तर, एक छेउबाट इनिङ समालेका आसिफले तेस्रो विकेटका लागि दीपेन्द्रसिंहसँग ७० रनको साझेदारी गर्दै नेपालको जित सुनिश्चित गराए।

मुहम्मद आमिरले ११.२ ओभरमा दीपेन्द्रसिंहलाई २१ रनमा स्टम्पिङ गराउँदै यो साझेदारी तोडे। दीपेन्द्रले १७ बलमा समान एक छक्का र चौका हिर्काए। लगत्तै १३ ओभरमा आसिफ पनि पवेलियन फर्किए। तथापि, दिलीप नाथले सात बलमा अविजित १५ रन जोड्दै ३८ बलअगावै नेपाललाई जित दिलाए। उनको इनिङमा तीन चौका रह्यो। मलेसियाको बलिङमा अमिर र सइद अजिजले थप १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेल्दै आठ विकेट गुमाएर १ सय १४ रन बनायो।

खराब सुरूआत गरे पनि मलेसियाले पावर प्लेमा आक्रामक ब्याटिङ गर्दै ४६ रन बटुल्यो। तर, नेपाली बलरले कसिलो बलिङ गर्दै पाहुना टोलीको रन गति कम गराए।

नेपालका तीव्र गतिका बलर करण केसीले इनिङको पहिलो बलमै मलेसियाका ओपनर वीरनदीप सिंहलाई बोल्ड गर्दै नेपाललाई सानदार सुरूआत गराए। छिट्टै विकेट पतन भए पनि सोमपाल कामीको दोस्रो ओभरमा मलेसियाका ओपनर जुबैदी जुलकिफलले दुई चौका र एक छक्का प्रहार गर्दै नेपाली बलरमाथि दबाब बनाए।

तर, सातौं ओभरमा कुशल मल्लले जुबैदीलाई ३२ रनमा बोल्ड गर्दै महत्वपूर्ण विकेट लिए। उनले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

सातौं ओभरमा मलेसिया ४९–२ को अवस्थामा थियो। त्यो विकेटसँगै पावर प्लेमा दबाब बेहोरेका नेपाली बलर पनि लयमा फर्किए र कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। कप्तान अहमद फैजले २४ रन, मुहम्मद आमिरले १६ रन र सैद अजिजले १४ रन बनाए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् र मलेसिया सस्तैमा रोकियो।

नेपालका तर्फबाट सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए। कुशल मल्ल, अविनाश बोहोरा र दीपन्द्रसिंह ऐरीले समान एक विकेट निकाल्दा मलेसियाले एक विकेट रनआउटको रूपमा गुमायो। दीपेन्द्रले चार ओभरमा निकै किफायती बलिङ गर्दै १४ रन मात्र खर्चिए। पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले बिहीबार उसैसँग खेल्नेछ।

प्रकाशित: १७ चैत्र २०७८ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App