१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टुसाल र श्री भगवतीले अंक बाँडे

टुसाल युथ क्लब र श्री भगवती क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगनमा सोमबार १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा खुमलटार युथ क्लब र बाँसबारी क्लबले आआफ्ना प्रतिद्वन्द्वीलाई हराएका छन्। 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा खुमलटारले वीरगन्ज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गर्दा अर्को खेलमा बाँसबारीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको हो। सोमबार सम्पन्न दिनको पहिलो खेलमा खुमलटारले वीरगन्ज युनाइटेडलाई पराजित गर्दा कप्तान सविन केसीले उत्कृष्ट खेल देखाए।

छैटौं मिनेटमा कप्तान केसीले पेनाल्टीबाट गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको १३औं मिनेटमा आशालाल कुँवरले गोल गर्दा वीरगन्जले खेल १–१ को बराबरीमा ल्याउन सफल भएको थियो। त्यसपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो।

पहिलो हाफमा बराबरी खेलेको खुमलटारले दोस्रो हाफमा भने स्पष्ट अंक जोड्नलाई आक्रामक खेल देखायो। सोही क्रममा ७५औं मिनेटमा रमेश थापाले गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए। जितसँगै खुमलटारले ९ खेलमा १२ अंक जोडेको छ। वीरगन्जले समान ९ खेलमा १० अंक जोडेको छ।

लिगअन्तर्गत दिनको दोस्रो खेलमा बाँसबारीले नयाँ बस्ती युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो। पहिलो हाफबाट नै दबाब दिएर खेलको बाँसबारीले चौथो मिनेटमा नै बिकी राईको गोलबाट अग्रता लिएको थियो। २५औं मिनेटमा सुलेमान थापामगरले गोल गर्दै बाँसबारीलाई २–० को अग्रता दिलाए। पछि परे पनि सम्हालिएको खेल देखाउन प्रयास गरेको नयाँ बस्तीका लागि ३२औं मिनेटमा सोम थापाले गोल गर्दै अन्तर २–१ मा पुर्‍याए।

त्यसपछि खेलको ८५औं मिनेटमा सञ्जय धिमालले टोलीका लागि तेस्रो गोल थप्दा बाँसबारीले स्पष्ट अंक जोड्न सफल भयो। जितसँगै बाँसबारीले ९ खेलमा १३ अंक जोडेको छ। नयाँ बस्तीले ९ खेलमा १३ अंक नै जोडेको छ। सोमबारकै अर्को खेलमा श्री भगवती युथ क्लबले टुसाल युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो।

लिगमा मंगलबार दुई खेल हुनेछन्। ललितपुरस्थित एन्फा मुख्यालयमा हुने दिनको पहिलो खेल ब्वाइज युनियन क्लब र सरस्वती युथ क्लबबीच हुँदा दोस्रो खेल श्री कुमारी क्लब र झम्सीखेल युथ क्लबबीच हुनेछ।

प्रकाशित: १५ चैत्र २०७८ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App