२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल थाइल्यान्ड भ्रमणमा जितविहीन

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल थाइल्यान्डको शीर्ष डिभिजन टोली चोनबुरीविरुद्धको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित भएको छ।

लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल थाइल्यान्ड भ्रमणमा जितविहीन बन्यो। यसअघि बिहीबार सम्पन्न थाइल्यान्डको राष्ट्रिय टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल अन्तिम १२ मिनेट सम्हालिन नसक्दा २–० ले पराजित भएको थियो।

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दुई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमण गरेको थियो। चोनबुरी एफसीविरुद्धको खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार उतारेका पहिलो रोजाइको टोलीका ८ खेलाडी परिवर्तन गरेको थियो।

नियमियत कप्तान तथा गोलकिपर किरण चेम्जोङको स्थानमा रक्षक अन्तत तामाङले नेपाली टोलीको कप्तानी सम्हालेका थिए भने दीप कार्कीले गोलपोस्ट सम्हालेका थिए। पहिलो खेलमा उत्रिएका किरणसँगै सुमन लामा, अञ्जन विष्ट, तेज तामाङ, आयुष घलान, पुजन उपरकोटी, सुरजज्यू ठकुरी आइतबार चोनबुरीसँग भने पहिलो रोजाइमा उत्रिएनन्।

अब्दुल्लाहले बिहीबारको टोलीबाट अनन्तसँगै दिशेन राजवंशी र एरिक विष्टलाई आइतबार पनि पहिलो रोजाइमा उतारेका थिए। चोनबुरीविरुद्ध अब्दुल्लाहले सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, नवीन गुरुङ, प्रशान्त अवस्थी, आशिष लामा र सुवास गुरुङलाई पहिलो रोजाईमा टोलीमा उतारेका थिए।

चोनबुरीको जितमा फान्थामित प्रफानात, रेनाटो केलिच र नाटापोङले समान एक/एक गोल गर्दा नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काएर अन्तर घटाएका थिए।

३०औं मिनेटमा प्रफानातले गरेको गोलमा चोनबुरीले अग्रता लिएको थियो। ६६औं मिनेटमा केलिचले चोनबुरीको अग्रता दोब्बर पारेका थिए। इन्जुरी समयको चौथो मिनेटमा दर्शन गुरुङको गोलमा नेपालले खेलमा फर्कने संकेत गरे पनि त्यसको एक मिनेटपछि नै गोल खाएपछि टोलीको सो लक्ष्यले पूर्णता पाएन। इन्जुरी समयको पाँचौ मिनेटमा नाटापोङले गरेको गोलसँगै थाइल्यान्डले ३–१ को जित निकाल्यो।

मच्छिन्द्र फुटबल क्लबसँग अनुबन्धित नेपाली राष्ट्रिय टोलीका नियमित सदस्यहरू मनीष डाँगी, विशाल राई, सुनील बल, विमल घर्तीमगर, विशाल श्रेष्ठ, देवेन्द्र तामाङलगायतका खेलाडीबिना नेपालले मैत्रीपूर्ण खेल खेलेको हो। मच्छिन्द्र एएफसी एसिया कपका लागि तयारीमा भएकाले उनीहरूबिना नै राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको हो।

एएफफसी छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् र खेल कुवेतमा हुनेछन्। एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहका उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्।

प्रकाशित: १४ चैत्र २०७८ ००:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App