२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशकका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा भएको अवार्डमा नेपाली क्रिकेटमा एकछत्र राज गरेका पारस दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भए। पारसले यसअघि एक पटक युवा विधासमेत गरी तीन पटक वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका थिए।

पारसको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपको प्रारम्भिक चरण खेलेको थियो। उनकै कप्तानीमा नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइन्।

नेपाली महिला फुटबलमा साम्बा उपनाम पाएकी सावित्राको नाममा ३४ अन्तर्राष्ट्रिय खेलमा ३८ गोलको कीर्तिमान रहेको छ। नेपालले सन् २०१४ देखि २०१९ सम्म समान २ पटक साफ च्याम्पियनसिप र साग तथा नाडेजा कप र हिरो वुमन्स गोल्डकप गरी ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गर्दा सावित्राको प्रेरणदायी भूमिका रहेको थियो।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भए। सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा टमाटा सो टोलीका प्रशिक्षक थिए।

लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथिको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो। यसअघि उनी दुई पटक वर्ष प्रशिक्षकबाट सम्मानित भइसकेका थिए।

त्यस्तै टेबल टेनिसकी एलिना महर्जनले पिपुल्स अवार्ड जितिन्। यस क्रममा एलिनाले नेपाली राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेललाई पछि पारेकी थिइन्।

एलिनाले ४७.८३३ प्रतिशत मत प्राप्त गरिन्। उनले खेल पत्रकारबाट २.५८८, प्रशिक्षकबाट २.४१ र फेसबुक लाइकमार्फत २.८८५ प्रतिशत र इसेवाबाट ३९.९५ प्रतिशत मत प्राप्त गरिन्। त्यस्तै एन्जिलाले २१.५२९, कुशलले १४.६५५, प्रिन्सले ८.५७९ र सन्तोषीले ७.३९४ प्रतिशत मत प्राप्त गरे।

गत वर्ष नेपालमै सम्पन्न थ्री नेसन्स कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली टिम अफ दी इयर घोषित हुँदा एथलेटिक्सकी पुष्पा भण्डारी परफर्मर अफ दी इयर घोषित भइन्।

पारा एथलिट अफ दी इयरको उपाधि सरिता थुलुङले जित्दा डाक्टर अजय राणालाई विशेष अवार्ड प्रदान गरियो। एसियन जर्नालिस्टको अवार्ड सताम अल सेहलीले प्राप्त गरे।

दशक पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्दा अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो।

शाहलाई मरणोपरान्त अवार्ड

राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्वसदस्यसचिव शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो। बृहत् राष्ट्रिय खेलकुद तथा दक्षिण एसियाली खेलकुद सागका जन्मदाता शाह नेपाली खेलकुदको श्रीवृद्धिमा गरेको योगदानका लागि देहत्याग गरेको झन्डै दशकपछि सम्मानित भए।

नेपाली खेलकुद अहिले जहाँ छ, जसमा टिकेको छ, ती सबैको आधार कुनै न कुनै रूप तयार पार्ने श्रेय तिनै शरदचन्द्र शाहलाई जान्छ। २०३४ देखि २०४५ सम्म खेलकुद को ११ वर्षे शासनकालमा उनले नेपाली खेलकुदको विकासमा जेजस्ता काम गरे, ती साँच्चै नै अतुलनीय रहेका छन्। उनको ११ वर्षे कार्यकालमा ७५ वटै जिल्लामा कभर्ड हल र पाँच विकास क्षेत्रमा रंगशाला निर्माण भएको थियो।

उनको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णिम युगको रूपमा लिइन्छ। व्यक्तिगत रूपमा शाहको छवि पनि निकै चुलियो। अन्तर्राष्ट्रिय खेल संस्थासँग उनको सम्बन्ध बलियो थियो। उनी एसियाली ओलम्पिक कमिटीको उपाध्यक्ष पदसम्म पनि पुगे। उनले नेपाल ओलम्पिक कमिटीको नेतृत्व पनि सम्हाले।

२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भएको भागदौडको घटनापछि ७२ जनाको ज्यान गयो। सोही घटनाको जिम्मेवारी लिँदै शाहले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ९ चैत्र २०७८ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App