५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

खेल पूर्वाधार पहिलो प्राथमिकताः मुख्यमन्त्री शाही

‘खेलाडीसँग मुख्यमन्त्री’ कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत। तस्बिर:नगेन्द्र/नागरिक

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। मुख्यमन्त्री शाहीले प्रदेश गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माण भइरहेको बताउँदै १० वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए।

‘खेलाडीसँग मुख्यमन्त्री’ कार्यक्रममा उनले शून्य पूर्वाधार भएको कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजना गर्ने गरेर पूर्वाधार निर्माणका काम भइरहेको बताए। ‘नेपालमै पहिलो पटक भलिवलको अन्तर्राष्ट्रिय अवर्डहल पनि कर्णालीले बनाउँदैछ,’ मुख्यमन्त्री शाहीले भने, ‘सून्य पूर्वाधारबाट कर्णाली एकैपटक राष्ट्रिय प्रतियोगीता आयोजना गर्ने अवस्थामा पुग्दैछ।’

प्रदेश सरकारले एक अर्ब ६७ करोडको लागतमा प्रदेश रंगशाला निर्माण गरिरहेको छ। रंगशाला २०८१ बैशाखभित्र निर्माण सम्पन्न हुनेछ। उनले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरी रंगशालासँगै सबै जिल्लामा खेलकुद पूर्वाधारहरु निर्माण भइरहेको बताए। ‘अहिले कर्णालीका चार जिल्लामा मात्रै कवर्डहल छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘दुई वर्षभित्रमा सबै जिल्लामा खेलकुदका पूर्वाधार निर्माण हुन्छन्।’

मुख्यमन्त्री शाहीले खेलकुद पूर्वाधारसँगै खेलाडी उत्पादन र प्रोत्साहनको कार्यक्रम ल्याइएको बताए। ‘प्रदेश तथा देशबाट प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगीतामा पदक विजेताहरुलाई सरकारले प्रोत्साहन पुरस्कार दिन सुरु गरेको छ, यसलाई राष्ट्रिय प्रतियोगीता विजेताहरुलाई दिने गरेर कार्यविधि बनाउँदैछौं,’ मुख्यमन्त्री शाहीले भने, ‘खेल पूर्वाधार, खेलाडी उत्पादन र प्रोत्साहनमा प्रदेश सरकार प्रतिवद्ध छ।’  

कार्यक्रममा सहभागीहरुले खेल क्षेत्रमा युवाहरुको आकर्षण बढाउने खालका कार्यक्रम ल्याइनुपर्ने बताएका थिए। कालिकोटका जीवन शाहीले युवाहरु लाहुरे बन्न जाने तर खेल क्षेत्रमा नआउने गरेको भन्दै युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने खालका कार्यक्रम ल्याउन मुख्यमन्त्रीसँग माग गरे।  

कराँते महासंघ कर्णाली प्रदेशका अध्यक्ष प्रदिपकुमार राईले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारसँगै प्रशिक्षकहरुको व्यवस्था गर्न माग गरे। ‘राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत कर्णालीमा १४ जना प्रशिक्षक र १० जना प्राविधिक मात्रै कार्यरत छन्,’ उनले भने, ‘खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षकहरुको व्यवस्था गरिनुपर्छ।’

प्रकाशित: १ चैत्र २०७८ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App