२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

भुवनलाई गल्फ उपाधि

शीर्ष प्रोफेसनल गल्फर भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जितेका छन्।

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा भुवनले चौथो वरीयताका सञ्जय लामालाई ३–२ ले हराउँदै उपाधि जितेका हुन्। यसअघि सबै प्रतिस्पर्धा १८ होलमा भएका थिए । उपाधि भिडन्त भने ३६ होलमातर्फतय भयो। 

सञ्जयले ९ होलपछि टु अप गरेका थिए। भुवनले १८ होलपश्चात् दूरी एकमा घटाए। २७ होलपछि भने भुवनले पहिलोपटक वान अपको अग्रता लिए। ३० होलपछि भने उनले तीनको अग्रता बढाए। दुवै गल्फरले अर्को चार होल सेयर गरे र भुवनले दुई होल बाँकी रहँदा जित रचे।

भुवनले आफ्नो करियरको आठौं र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए। ट्रफीसँगै भुवनले ५० हजार र उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे। पाँचौं वरीयताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु अपको अग्रता) मार्फत जित निकाल्दै तेस्रो स्थान प्राप्त गरे। धनले २२ हजार र विकासले १८ हजार रुपैयाँ प्राप्त गरे । क्वार्टरफाइनलमा पराजित चार गल्फर दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे।

त्यसैगरी पहिलो राउन्डमा पराजित आठ गल्फर सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बलभद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजवाहक, रवि खड्का र शिवकुमार माझीले ५–५ हजार रुपैयाँ प्राप्त गरे। अर्डर अफ मेरिट अफ सूर्य नेपाल गल्फ टुर २०१८–१९ सिजनका शीर्ष १६ व्यावसायिक गल्फर प्रतियोगितामा सहभागी हुन योग्य थिए। किनकी पछिल्ला दुई संस्करण कोरोना महामारीका कारण पूरा हुन सकेनन्।

दोस्रो वरीयताका शिवराम श्रेष्ठ र १४औं वरीयताका दीपक आचार्यले प्रतियोगितामा भाग लिएनन्। एनपिजिएले १७औं वरीयताका शिवकुमार माझी र १८औं वरीयताका सचिन भट्टराईलाई ड्रमा स्थान बनाउन अनुमति दिएको थियो। विजेतालाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र आरएनजिसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रकाशित: २७ फाल्गुन २०७८ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App