१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीका महतरा दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता

प्रतियोगिताको खुलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने धावक पुरस्कार लिँदै। तस्बिरः ध्रुव/नागरिक

त्रिभुवन आर्मी क्लबका धावक देवराज महतरा दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता बनेका छन्। प्रतियोगिताको खुलातर्फ साढे २४ किलोमिटर लामो दौड दुई घण्टा १४ मिनेट ३० सेकेन्डमा पूरा गर्दै उनी प्रथम भएका हुन्।

बिजेता महतराले एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। आर्मीकै धावक श्रीकाश राई दोस्रो भए। दुई घण्टा १६ मिनेट १० सेकेण्डमा दौड पूरा गरेका उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार हात पारे। साविक विजेता सुमन कुलुङले यस पटक तेस्रो स्थानमा चित्त बुझाए। सोलुखुम्बुका उनले दुई घण्टा ३३ मिनेटमा दौड पूरा गरेका थिए। राईले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

त्यस्तै खुलातर्फ नै गोरखाका भीम गुरुङ, आर्मीका गजेन्द्र राई र मोरङका याङदेव राई क्रमशः चौथो, पाँचौँ र छैठौँ भए। उनीहरुले क्रमशः ४०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। महिलातर्फ सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङ बिजेता बनिन्।

तीन घण्टा १७ मिनेटमा दौड पूरा गरेकी उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरिन्। सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासादिकी शेर्पाले दोस्रो र तेस्रो स्थान हाँसिल गरे । उनीहरुलले क्रमशः ३५ र २० हजार रुपैयाँ पुरस्कार पाए।

जिल्लावासीतर्फ गणेशसिं ठकुरी प्रथम, राहुल तामाङ दोस्रो र श्यामकुमार तामाङ तेस्रो भए । उनीहरुले क्रमशः ३०, २० र १५ हजार रुपैँया पुरस्कार हात पार। विभिन्न जिल्लाका एक सय १९ धावकले दौडमा प्रतिस्पर्धा गरेका थिए । चौतारास्थित गोरख बक्स गणको अगुवाई तथा व्यवस्थापन र भोटेकोसी गाउँपालिका लगायत स्थानीय तह र संघसंस्थाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो।

लार्चास्थित सुख्खा बन्दरगाहबाट सुरु भएको दौड नयाँ पुल, पाङलाङ, लिस्तिकोट हुँदै गुम्बाको २ हजार ४ सय २५ मिटर उचाइबाट झर्दै ऐतिहाँसिक नेपाल–तिब्बत युद्ध किल्ला दुगुनागढीमा पुगेर सम्पन्न भएको थियो । नेपाली फौजले बि.सं. १९१२ सालमा यो किल्ला खडा गरेको थियो। यही किल्लाबाट लडाई लडेर नेपाली फौजले भोट (तिब्बत) माथि बिजय प्राप्त गरेको थियो।

ऐतिहासिक तथा सामरिक युद्ध किल्लाको संरक्षण, प्रवर्दन गर्दै प्रचारमार्फत पर्यटन प्रवद्र्धन गर्न गएको वर्षदेखि दौड आयोजना गर्न थालिएको गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले बताए। किल्ला रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले यस्ता प्रतियोगिता बर्सेनी गर्ने बताउँदै किल्ला संरक्षण र प्रचारमा स्थानीय तहले काम गरिरहेको जानकारी दिए।

जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारी, सेनाको नं. १६ बाहिनीका बाहिनीपति सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल लगायतले बिजयी धावकलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७८ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App