२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अरूणा र विराज सर्वाेत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ बाट सम्मानित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्वारा मंगलबार ललितपुरको गोदावरीस्थित वज्रवाराहीमा आयोजित १६औं संस्करणको अवार्डमा भलिबलकी अरूणा र फुटबलका विराज क्रमशः वर्ष २०७७ को सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीबाट सम्मानित भएका हुन्।

अरूणाले आफ्नो कप्तानीमा गत वर्ष एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि दिलाएकी थिइन्। यस वर्ष पनि उनले आफ्नो कप्तानीमा उक्त सफलता दोहोर्‍याइन्। विराजले पनि आफ्नो कप्तानीमा घरेलु भूमिमा गत वर्ष थ्री नेसन्स कपको उपाधि जितेका थिए।

सोही सफलतापछि उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास पनि लिए। दुवै अवार्डसहित एक लाख रूपैयाँ नगदसहित सम्मानित भए। वर्ष २०७७ को उदीयमान खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उसुकी निमा घर्तीमगर चयन भए।

प्रिन्सले यसै वर्ष जुनियरतर्फ विश्व वरीयतामा शीर्ष स्थानको सफलता समेत पाएका थिए। निमा भने १२औं र १३औं सागकी स्वर्ण विजेता हुन्। खेलाडी संघले प्रतिभावान् खेलाडीको अवार्ड तेक्वान्दोकी पार्वती गुरुङ र ट्रायथोलनका हिमाल टमटालाई प्रदान गर्‍यो। उदीयमान र प्रतिभावान् खेलाडीको अवार्ड विजेता चारैले समान ५० हजार रूपैयाँ पाए।

पत्रकारिता सम्मान २०७७ बाट फुटबल पत्रकार हिमेशरत्न वज्राचार्य सम्मानित भए। उनलाई खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले २५ हजार नगद र सम्मानपत्र प्रदान गरे। खेलाडी संघले वर्ष २०७७ को गजराज आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका प्रशिक्षक पुष्पराज ओझालाई सम्मान गर्‍यो। उनले ३५ हजार रूपैयाँ र सम्मानपत्र प्राप्त गरे।

पारातर्पm पारा तेक्वान्दोकी पलिशा  गोवर्द्धनले वर्ष २०७७ को उत्कृष्ट खेलाडी घोषित भइन्। उनी दश हजार रूपैयाँसहित सम्मानित भइन्। पलिशाले यसै वर्ष जापानमा सम्पन्न टोकियो ओलम्पिक्समा दुई जितको सफलतासमेत आत्मसात् गरेकी थिइन्। खेलाडी संघले विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई पनि १६औं एनएनआइपिए स्पोर्टस अवार्डबाट सम्मान गर्‍यो।

सम्मानित हुनेमा आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की र गल्फकी कस्मिरा शाह रहे।

त्यस्तै ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्यास्टिकका रोहन बुढाथोकी, करातेका विप्लव श्रेष्ठ, र्‍याफ्टिङ एन्ड क्यानोनिङका सुमन तामाङ, जुडोकी सुमित्रा राई, स्किका सफलराम श्रेष्ठ र पौडीका अनुभव सुब्बा पनि आआफ्नो खेलको वर्ष २०७७ को उत्कृष्ट खेलाडी घोषित भए।

सुटिङकी कृष्णा थापा, कबड्डीका नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्रायथोलनका हिमाल टमाटा, लनटेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज, भलिबलकी अरूणा, भारत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा र कुस्तीका सुरेश चुनारा वर्ष २०७७ को उत्कृष्ट खेलाडी भए। उत्कृष्ट खेलाडी सबैले नगद १० हजार रूपैयाँ प्राप्त गरे।

प्रकाशित: १८ फाल्गुन २०७८ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App