२ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

रूसविरुद्ध फुटबल खेल्न अस्वीकार

फिफाले न्युट्रल भेन्युमा प्लेअफका खेल खेलाउने योजना बनाए पनि अन्य राष्ट्रले छनोट चरणका खेल खेल्न अस्वीकार गरेसँगै रूसको कतार विश्वकप २०२२ खेल्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।  

फिफाले सोमबार रूसले युक्रेनमाथि गरेको दमनका कारण त्यहाँ तय खेल सञ्चालन गर्न नसकिने जनाएको थियो। यसअघि फिफाले युक्रेनमाथिको रूसी दमन कायम रहे थप प्रतिबन्ध लगाइने जनाएको थियो।

रूसले युक्रेनमाथि हमला सुरु गरेको तीन दिनपछि फिफाले रूसलाई घरेलु मैदानमा तय अन्तर्राष्ट्रिय फुटबल खेल न्युट्रल भेन्युमा खेल्न आदेश दिएको हो। सो खेलका क्रममा रूसले आफ्नो झन्डा प्रयोग गर्न पाउँदैन भने रूसको राष्ट्रिय गानमा समेत प्रतिबन्ध लगाइनेछ। रूसले फुटबल युनियन अफ रूसको नाममा अन्तर्राष्ट्रिय खेल खेल्न पाउनेछ।

फिफाले अन्य खेलकुद संस्थासँगको छलफलपछि रूसका बारेमा थप धारणा बनाउने जनाएको छ। फिफाले यससँगै रूसमाथि प्रतिबन्धको संकेत समेत गरेको छ।

फिफाले रूसलाई न्युट्रल भेन्युमा खेल आयोजना गर्न निर्देेशन दिएलगत्तै पोल्यान्ड फुटबल संघले रूससँग निर्धारित प्लेअफ खेल नखेल्ने घोषणा गरेको छ।

‘आज फिफाले जुन निर्णय गरेको छ, त्यो अस्वीकार्य छ,’ पोल्यान्ड फुटबल संघका अध्यक्ष सेजार कुलेस्चाले भने, हामी अहिलेकै अवस्था जारी रहेको खण्डमा यो खेल खेल्ने पक्षमा छैनौं। हामी आफ्नो निर्णयमा अडिग रहन्छौं। पोल्यान्डको राष्ट्रिय टोलीले रूसविरुद्ध खेल्ने छेैन। टोलीको नाम परिवर्तन भए पनि सो टोलीले प्रतिनिधित्व गर्ने राष्ट्रको दमनकारी कदम हामीलाई स्वीकार्य छैन।’

पोल्यान्डले मार्च २४ मा मस्कोमा रूसविरुद्ध प्लेअफ खेल्ने तालिका छ। सो प्लेअफको विजेताले विश्वकप २०२२ को टिकटका लागि त्यसको पाँच दिनपछि चेक रिपब्लिक र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

नोभेम्बर–डिसेम्बरमा आयोजना हुने कतार विश्वकप २०२२ को खेल तालिका अप्रिल १ मा सार्वजनिक हुनेछ। चेक रिपब्लिक र स्विडेनले पनि रूसविरुद्ध नखेल्ने जनाएका छन्। ‘हामी यही अवस्था कायम रहे रूसविरुद्ध कुनै पनि खेल खेल्दैनाैँ,’ स्विडेन एफएका अध्यक्ष कार्ल–इरिक नेल्सनले भने, ‘म फिफाको निर्णयमा सहमत छैन। चेक रिपब्लिकले पनि रुसविरुद्ध नखेल्ने आफ्नो अडान यथावत् रहेको जनाएको छ।

फिफाले विज्ञप्ति जारी गर्दै पोल्यान्ड फुटबल संघ, फुटबल एसोसिएसन अफ चेक रिपब्लिक र स्विडेन एफएको प्रतिक्रियाबारे छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ। फ्रेन्च फुटबल संघका अध्यक्ष नियोल ले गारेटले आइतबार रूसलाई विश्वकप प्लेअफ खेल्नबाट प्रतिबन्ध लगाइनुपर्ने जनाएका थिए। ‘विश्व खेलकुद, विशेष गरी फुटबल तटस्थ रहन सक्दैन। म रूसलाई विश्वकप छनोटको प्लेअफ खेल्न दिनुपर्छ भन्ने पक्षमा छैन,’ उनले भने।

फ्रान्सले सन् २०१८ मा रूसमै सम्पन्न विश्वकपको उपाधि जितेको थियो। त्यस क्रममा फ्रान्सले क्रोएसियालाई निराश पारेको थियो। इङ्लिस एफए र वेल्स एफएले पनि युक्रेनप्रति ऐक्यबद्धता जनाउँदै रूसमा फुटबल नखेल्ने जनाएका छन्।

शुक्रबार मात्र युइएफएले मे २८ मा सेन्ट पिटर्सबर्गमा तय च्याम्पियन्स लिगको फाइनल खेल अन्यत्र सार्ने घोषणा गरेको थियो।

प्रकाशित: १७ फाल्गुन २०७८ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App