४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

विद्या भूषण पहिलो पटक फाइनलमा

नेपालको यु–१९ टोलीका उपकप्तान शेर मल्ल र वीरेन्द्र नाथको ९६ रनको आक्रामक इनिङको मद्दतमा विद्या भूषण स्कुलले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सम्पन्न छैटौं संस्करणको प्रतियोगिताको पहिलो सेमिफाइनलमा शेर र वीरेन्द्रको आक्रामक साझेदारी प्रेरणाबाट विद्या भूषणले शुक्रबार डिफेन्डिङ च्याम्पियन काठमाडौंको हिमालयन ह्वाइट हाउसलाई ६ विकेटले स्तब्ध बनाउँदै उपाधि भिडन्त तय गरेको हो।

१ सय ७५ रनको लक्ष्य पछ्याएको विद्या भूषणले सुरुआतमा निकै सुस्त गतिमा रन बटुले पनि शेर र वीरेन्द्रको प्रेरणामा १० बल बाँकी छँदा नै जित प्राप्त गर्‍यो। विद्या भूषणका लागि शेरले ५७ रन र वीरेन्द्रले ७३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

३३ बल खेलेका शेरको इनिङमा पाँच चौका र चार छक्का रह्यो। वीरेन्द्रले ४१ बलमा तीन चौका र सात छक्का हिर्काए। एक समय विद्या भूषण ११.२ ओभरमा ७९–४ को नाजुक अवस्थामा थियो। १५औं ओभरसम्म हिमालयनका बलरले अनुशासित बलिङ गरिरहेका थिए, जसको कारण अन्तिम पाँच ओभरसम्म विद्या भूषणलाई ६५ रन आवश्यक थियो।

१८ बलमा ३६ रन आवश्यक रहँदा १८औं ओभरमा खेलले रोमाञ्चक मोड लियो। सन्दीप शाहीको सो ओभरमा शेरले पहिलो चार बलमा चार छक्का र एक चौका प्रहार गर्दै सहज जितको आधार तय गरे। सोही ओभरको पाँचौं बलमा शेरको विकेट पनि ड्रप भएको थियो।

त्यसअघि ओपनर प्रदीप चन्दले दुई चौकाको मद्दतमा १७ रन बनाए। यु–१९ टोलीकै महत्त्वपूर्ण ब्याट्सम्यान अर्जुन साउद ४ रनमा तेस्रो विकेटको रूपमा आउट हुँदा भूषणमाथि ठूलो दबाब परेका थियो। त्यसको दुई ओभरपछि नै विद्या भुषणले चौथो विकेट गुमाए पनि शेर र वीरेन्द्रको अनुशासित ब्याटिङले विद्या भूषणले फाइनलको यात्रा तय गर्‍यो। ह्वाइट हाउसको बलिङमा दीपक बोहराले (जुनियर) दुई तथा सन्दीप शाहीले एक विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। टस जितेर ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको योगफल बनायो।

हिमालयनका लक्की कडायतले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४७ रन बनाए। शेर मल्लकै बलमा उनी १८औं ओभरमा आउट भएका थिए। ओपनर दीपक बोहरा (जुनियर) र राहुल भण्डारीले समान २५/२५ रनको योगदान दिए। ओपनर दीपक बोहरा (सिनियर) ले २३ रन जोड्दा कप्तान नारायण जोशीले १७ रन र रजत तिमिल्सिनाले १५ रन बनाए। विद्या भूषणको बलिङमा कप्तान शेर, वीरेन्द्र र प्रदीप चन्दले समान २/२ तथा अर्जुन साउद र नरन्द्र साउद १/१ विकेट लिए।

प्लेयर अफ दी म्याच शेर मल्ल घोषित भए। शुक्रबार नै हुने भनिएको शारदा सरस्वती र सत्यवतीबीचको दोस्रो सेमिफाइनल वर्षा हुँदा समय अभावका कारण शनिबार नै हुने आयोजकले जनाएको छ। फाइनल पनि शनिबार नै हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०७८ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App