१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चेल्सीको सहज जित

अनुभवी रोमेलु लुकाकुविना मैदान उत्रिएको चेल्सीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा मंगलबार फ्रान्सको लिलेलाई २–० ले पराजित गर्दा इटालीको युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

आफ्नो घरेलु मैदानमा चेल्सी भ्रमणकारी टोलीमाथि हाबी भएर खेलेको थियो। थोमस टचेलको टोलीलाई सफलता दिलाउन काई हाभर्टज र क्रिस्टियन पुलिसिकले गोल गरे। पहिलो र दोस्रो हाफमा समान १/१ गोल गरेको चेल्सीले जितसँगै अन्तिम आठको यात्रा बलियो बनाएको छ। सुरुआतमा प्रतिस्पर्धात्मक भए पनि चेल्सीले भ्रमणकारी टोलीलाई दबाबमा राख्यो।

खेलको चौथो मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा काई  हाभर्टजको प्रहार क्रसबार माथिबाट बाहिरिँदा चेल्सी अग्रता लिनबाट चुक्यो तर  आठौं मिनेटमा भने हाभर्टजको गोलमा चेल्सी अग्रता लिन सफल भयो। हाकिम जियचको कर्नरमा अनमार्क  हाभर्टजले आकर्षक शैलीमा हेडमार्फत बललाई जाली चुमाए। त्यसपछि लिलेले पनि पहिलो हाफमा केही अवसर सिर्जना गर्‍यो। तर चेल्सीको रक्षापंक्तिले निस्तेज पार्‍यो। चेल्सीले दोस्रो हाफमा पनि भ्रमणकारी टोलीलाई दबाबमै राख्यो।

६३औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। एंगोलो कान्टेको पासमा पुलिसिक गोल गर्न सफल भए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र चेल्सीले पहिलो लेगमा सफलता पायो। दोस्रो लेगमा पनि यही नतिजा कायम राख्न सके चेल्सी अन्तिम आठमा प्रवेश गर्नेछ। लिलेलाई अघिलो चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ। दोस्रो लेगको खेल लिलेको मैदानमा मार्च १७ मा हुनेछ। मंगलबारकै अर्को खेलमा डुसान भ्लाहोभिचको डेब्यु गोलबाट लिएको अग्रता युभेन्ट्सले जोगाउन नसक्दा भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकियो। पहिलो मिनेटमै अग्रता लिए पनि जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिन पुग्यो।

भिल्लारियलका ड्यानियल पारेजोले बराबरी गोल फर्काए। भिल्लारियलको मैदानमा भएको खेलमा ३२ सेकेन्डमै डुसान भ्लाहोभिचको गोलबाट युभेन्ट्सले सुरुआती अग्रता लियो। डानिलोको लामो पासलाई नियन्त्रणमा लिँदै भ्लाहोभिचले च्याम्पियन्स लिगको डेब्युमा नै गोल गरे। पहिलो मिनेटमा नै पछि परेको घरेलु टोलीले खेलमा फर्कन निकै प्रयास गरे पनि पहिलो हाफमा सफलता पाउन सकेन।

दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको भिल्लारियलले ६६औं मिनेटमा ड्यानियल पारेजोको गोलबाट खेल बराबरीको अवस्थामा ल्यायो। इटिनी कापोविको पासमा पारेजोले गोल गर्न भए। ८५औं मिनेटमा जुआन कोर्डाडोको पासमा भ्लाहोभिचले पाउ टोरेसलाई बिट गर्दै गरेको प्रहारलाई भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्लीले बचाउँदा युभेन्ट्सले भ्रमण सार्थक बनाउन पाएन। बराबरीसँगै दुवै टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै छ। युभेन्ट्सलाई अवे गोलको फाइदा हुनेछ। दोस्रो लेग युभेन्ट्सको मैदानमा मार्च १७ मा हुनेछ ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App