१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराटनगर महानगरपालिका र एन्फाबीच सम्झौता, महिला लिग वैशाख ७ गतेदेखि

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिता विराटनगरमा हुने भएको छ। लिग प्रतियोगिताअन्तर्गत दोस्रो चरणका खेलहरु विराटनगरमा आयोजना हुने भएको हो। विराटनगर महानगरपालिका र अखिल नेपाल फुटलबल संघ (एन्फा)बीच महिला लिगको दोस्रो चरणका खेल विराटनगरमा आयोजना गर्ने सम्झौता भएको छ।

एक कार्यक्रमकाबीच बिहीबार महानगरपालिकाका प्रमुख भीम पराजुली र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। विकास निर्माणसँगै खेलकुदलाई उच्च प्राथमिकतामा महानगरले राखेको बताउँदै प्रमुख पराजुलीले भने, ‘प्रतियोगिता आयोजना गर्नका लागि महानगरपालिकाले ४५ लाख रुपैयाँ एन्फालाई प्रदान गर्ने सम्झौता भएको हो।’

महानगरकै अगुवाइमा यसअघि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता साफ महिला च्याम्पियन्सीपको सम्पन्न भइसकेको छ। यस लिगमा महानगरको आफ्नै टोली मैदानमा उठ्ने छ। प्रतियोगितालाई रोचक र भव्य बनाउने हुँदा त्यसका लागि सबै खेल प्रेमीको साथ आवश्यक रहेको प्रमुख पराजुलीले बताए।

सम्झौता हस्ताक्षरका क्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रिय महिला लिगका लागि २ करोड ६१ लाख रुपैयाँ खर्च लाग्ने बताए। विराटनगरसहित ८ महिला टोलीको सहभागिता रहेको छ। विजेता टोलीले २० लाख रुपैयाँ ट्रफी, दोस्रो हुनेले १० लाख रुपैयाँ र तेस्रो स्थानको टोलीले ५ लाख रुपैयाँ हात पार्ने जानकारी दिइएको छ।

त्यसैगरी, चौथो हुने टोलीले ३ लाख र पाँचौं हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। लिगमा महानगरसँगै साविक विजेता सशस्त्र प्रहरी बलको टोली एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, स्याङजाको वालिङ नगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिकाको सहभागिता रहेको छ।

माघ १५ गतेदेखि आयोजना गर्ने भनिएको लिग खेल कोभिड १९ का कारण अनिश्चित समयका लागि स्थगित गरिएको थियो। राष्ट्रिय महिला फुटबल लिगमा ५६ खेल हुनेछ। पहिलो चरणका २८ वटा खेल भरतपुरको चितवनमा चैत १० गतेदेखि र विराटनगरमा दोस्रो चरणको २८ वटा खेल वैशाख ७ गतेदेखि हुने एन्फाले जनाएको छ।  

प्रकाशित: ६ फाल्गुन २०७८ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App