२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दोस्रो स्थानको मनाङ  मर्स्याङ्दीले थ्री स्टार क्लबसँग अंक बाँडेपछि उपाधि रक्षाको लक्ष्यमा रहेको मच्छिन्द्रले ६ अंकको अग्रता लिएको छ। च्यासलका रक्षक यानिक केइचासँग एयर बलका लागि जुध्दा मच्छिन्द्रका स्ट्राइकर मनीष मैदानमा ढले।

त्यो चोटले उनलाई अस्पतालसम्म पुर्‍यायो। उनलाई २४ देखि ४८ घन्टा निगरानीमा राखिने अस्पालले जनाएको छ। मनीषको त्यो मैदानमा उपस्थिति विक्षिप्त भए। विजयी मच्छिन्द्रले पनि जितको खुसी मनाउन सकेन। च्यासलमाथिको जितपछि मच्छिन्द्रले शीर्ष स्थानमा केही घण्टा सात अंकको अग्रता लिएको थियो।

थ्री स्टारमाथि जितसहित मनाङलाई अग्रता चार अंकमा झार्ने अवसर थियो। तर, मनाङ जित निकाल्न असफल भयो। समान १० खेलबाट २६ अंक जोडेको शीर्ष टोली मच्छिन्द्रको २६ अंक र दोस्रो स्थानको मनाङको २० अंक छ। तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १८ अंक र चौथो स्थानको थ्री स्टारको १७ अंक छ।

सातदोबाटो युथ क्लब १५ अंकसहित पाँचौं स्थान छ। मच्छिन्द्रलाई उपाधितर्पm अघि बढाउने क्रममा पहिलो हाफमा नै स्ट्राइकर विमल घर्तीमगर र सुनील बलले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो। १२औं मिनेटमा विमलसँग ठोकिँदा च्यासलका गोलकिपर अर्पन कार्की खुट्टामा चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए।

अर्पनको स्थानमा दोस्रो रोजाइका गोलकिपर प्रदीप भण्डारी पोस्ट समाले। त्यसको चार मिनेट पछि नै विमलको गोलमा मच्छिन्द्रले अग्रता लियो। रन्जित धिमालको कर्नरमा विमलले बललाई हेडरमार्फत जाली चुमाए। २४औं मिनेटमा सुनीलले गरेको फ्रिकिक प्रदीपले रोक्दा मच्छिन्द्रले अग्रता बढाउने अवसर गुमायो।

३५औं मिनेटमा सुनीलले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे। सुनिलले विमलको पासलाई सहजै जाली चुमाए। जारी लिगमा सुनीलको यो छैटौ गोल हो। खेलको ६६औं मिनेट भने निकै क्रासपूर्ण बन्यो। च्यासलका रक्षक यानिक केइचासँग एयर बलका लागि जुध्दा मच्छिन्द्रका स्ट्राइकर मनीष मैदानमा ढले। उनी मैदानमा बेहोस भएर ढलेसँगै मच्छिन्द्र र च्यासलका खेलाडी मात्र नभई दर्शक पनि आत्तिए।

मैदानमै सात मिनेटको प्राथमिक उपचारपछि मात्र मनीष होसमा आए। त्यसलगत्तै उनलाई ब्लुक्रस अस्पताल पुर्‍याइएको थियो। मनीषको टाउकोमा चोट लागे पनि उनी खतरामुक्त रहेको अस्पतालले विज्ञप्तीमार्फत जनाएको छ। उनलाई २४ देखि ४८ घन्टा निगरानीमा राखिने अस्पालले जनाएको छ।

सो घटनालाई मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले युरोपियन च्याम्पियनसिपमा फिनल्यान्डविरुद्ध डेनमार्कका क्रिस्टियन इरिकसनको घटनासँग जोडेर हेरेको प्रतिक्रिया दिए। सो खेलमा इरिकसन हृदयघातका कारण मैदानमा ढलेका थिए।

उनलाई प्राथमिक उपचारपछि अस्पताल पुर्‍याइएको थियो। ‘ए डिभिजन लिगजस्तो शीर्ष प्रतियोगितामा समेत एन्फाको मेडिकल टोली हाई अलर्टमा बसेको पाइएन,’असन्तुष्ट कटुवालले भने, ‘आज हामीलाई तीन अंक चाहिएको थियो, त्यो पायौं। तर मनीषको चोटले जित नै खल्लो लागेको छ।’

‘इरिकसनको घटनापछि लिगमा मेडिकल टोली सतर्क भएर बस्नुपर्ने हो, तर त्यस्तो भएन। मनीस ढलिरहँदा मैदानमा चिकित्सक नै नभएको भन्ने सुन्नमा आयो,’प्रशिक्षक कटुवालले भने, ‘दर्शकदीर्घामा रहेका हाम्रै क्लबका सल्लाहाकार डा. प्रतीक गुरुङ उपचारमा खटिन मैदानमा उत्रनुभयो।’ मच्छिन्द्रसँगको हारले पाँच अंकसहित अंकतालिकाको अन्तिम स्थानमा रहेको च्यासलमाथि भने रेलिगेसन दबाब बढेको छ।

यता, दोस्रो खेलमा मनाङले अग्रता जोगाउन नसक्दा थ्री स्टारसँग अंक बाँड्यो। ६२औं मिनेटमा दयानन्द सिंहले कप्तान अञ्जन विष्टको पासमा गरेको गोलबाट मनाङले अग्रता लिएको थियो तर, ७१औं मिनेटमा ऋतिक खड्काको गोलबाट थ्री स्टार खेलमा फर्कियो। यसअघि शनिबार नै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै पाँचौं स्थानमा उक्लियो। १९औं मिनेटमा आकाश बुढामगरले पेनाल्टीमा गरेको गोल नै सातदोबाटोको जितका लागि पर्याप्त बन्यो। 

प्रकाशित: १ फाल्गुन २०७८ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App