१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महामारी र कूटनीतिक बहिष्कारबीच शीतकालीन ओलम्पिक सुरु

कोभिड–१९ महामारी, मानवअधिकारको विषय र अमेरिकाको कूटनीतिक बहिष्कारबीच चीनका राष्ट्रपति सी जिङ पिङले शुक्रबारबाट बेइजिङ शीतकालीन ओलम्पिक औपचारिक रूपमा सुरु भएको घोषणा गरेका छन्।

‘म बेइजिङ शीतकालीन ओलम्पिक सुरु भएको घोषणा गर्दछु,’ सी जिङ पिङले भने। उद्घाटन समारोहमा सी जिङ पिङलाई रूसका राष्ट्रपति भ्लाद्मिर पुटिनले साथ दिएका थिए। त्यसअघि यी दुई नेताबीच छुट्टै भेटवार्ता भएको थियो। उद्घाटन समारोहमा करिब ३ हजार कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। शुक्रबारबाट सुरु शीतकालीन बेइजिङ ओलम्पिक आगामी फेब्रुअरी २० सम्म सञ्चालन हुनेछ। मानवनिर्मित हिउँमा उक्त ओलम्पिक सञ्चालन हुँदै छ।

चीनमा शीतकालीन खेलकुदको परम्परा निकै कम छ। तथापि, चीनले शीतकालीन ओलम्पिक आयोजना गर्नु एक अर्ब ४० करोड जनसंख्या भएको देशका मानिसलाई स्की र हिउँको खोजीमा प्रेरणा जगाउनु रहेको बताएको छ।

सन् २००८ मा चीनले गृष्मकालीन ओलम्पिकको आयोजना गरेपछि उनीहरूलाई नयाँ शक्तिको रूपमा चिनाएको थियो। महिलाको आइस हक्की र फ्रिस्टायलको स्कीमा प्रतिस्पर्धा पनि भैरहेको छ। करिब तीन हजार खेलाडी, दश हजार कर्मचारी, स्वयम्सेवक र सञ्चारकर्मीहरू बेइजिङको ठूलो भीडबाट सुरक्षित भएर शीतकालीन ओलम्पिकमा सहभागी हुनेछन्।

सन् २०१९ मा चीनबाट देखिएको भाइरस अझै पनि विश्वभर यथावत् छ। यस पटक चीनमा भाइरसबाट बच्नका लागि दैनिक रूपमा खेलाडीको कोभिड परीक्षण गरिनेछ। साथै सहभागी सबैलाई अनिवार्य रूपमा मास्क प्रयोगगर्ने नियम लागू गरिएको छ।

बुधबार मात्र ५५ जना खेलकर्मीमा संक्रमण पुष्टि भएको छ। यद्यपि, बेइजिङ २०२२ का मेडिकल विशेषज्ञ प्यानलका अध्यक्ष ब्रयान म्याकक्लोस्केले कोही पनि गम्भीर रूपमा बिरामी नभएको प्रस्ट पारेका छन्। यद्यपि, कोभिडभन्दा पनि अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडालगायत राष्ट्रले चीनमा मानव अधिकार हनन भएको आरोप लगाउँदै गरेको कूटनीति बहिष्कारले बेइजिङलाई ठूलो समस्यामा पारेको छ। चीनले अल्पसंख्यक उइगुर मुस्लिम समुदायमाथि दमन गरिरहेको उनीहरूको आरोप छ। वासिङ्टनले चीनबाट सिनसियाङ क्षेत्रमा नरसंहार भएको आरोप लगाएको छ।

यद्यपि, चीनले कूटनीति बहिष्कारको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिइसकेको छ। यसबीच रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शीतकालीन ओलम्पिकको उद्घाटनमा सहभागी हुँदै बहिष्कार गर्ने राष्ट्रलाई चुनौती दिएका छन्। चीनको सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा पुटिनले खेलक्षेत्रमा राजनीतिकरण र भेदभावको विपक्षमा आफूहरू रहेको प्रतिक्रिया दिएका छन्। डोपिङको आरोप प्रमाणित भएपछि रसियाली खेलाडीहरू भने रसियन ओलम्पिक कमिटीको ब्यानरमा प्रतिस्पर्धा गर्दै छन्। क्यानाडा, बेलायत अमेरिका र अस्ट्रेलियालगायत १२ वटा पश्चिमा राष्ट्रहरूले बेइजिङमा शीतकालीन ओलम्पिकको कूटनीति बहिस्कारगरेका छन्।

उनीहरूले यस ओलम्पिकमा सरकारी स्तरबाट कु नै पनि प्रतिनिधि पठाएका छैनन्। बहिष्कार गरेका देशका खेलाडीले मात्र बेइजिङ विन्टर ओलम्पिकमा सहभागिता जनाउनेछन्।

चीनले मानवअधिकार विरोधी घटनाहरू गरिरहेको आरोप लगाउँदै यी देशहरूले कूटनीतिक बहिष्कार गरेका हुन्। तथापि, चीनले भने आरोप अस्वीकार गर्दै आइरहेको छ। अमेरिका र एफबिआईको साइबार सेक्युरिटीले समेत आफ्ना खेलाडीलाई नियमित प्रयोग गर्ने मोबाइल र अन्य इलेक्टोनिक सामान चीन नलैजान आग्रह गरेको छ। उनीहरू कामचलाउ मोबाइल र इलेक्ट्रोनिक्स सामान मात्र लिएर आएका छन्। 

प्रकाशित: २२ माघ २०७८ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App