१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लाहुरे छाडेर फुटबलर बनेका राजाबाबु

संकटा क्लवका गोलकिपर राजाबाबु थापा। तस्बिरः उमेश पुन÷नागरिक

स्याङ्जा जिल्ला भलिबलको लागि चर्चित ठाउँ हो। त्यसमा पनि वालिङ भलिबलको उर्वरभूमि हो। तर ‘ढुंगाको काप फोरेर पनि, उम्रन्छ पिपल’ भनेजस्तै स्याङ्जा वालिङका राजाबाबु थापा भलिबलको उर्वरभूमिबाट फुटबलमा उदाएका तारा हुन्। सानैदेखि फुटबलमा रुची राख्ने राजाबाबुका साथीहरु भने भलिबल खेल्थे। साथीहरु मात्र होईन, पुरै गाउँ नै भलिबलमय थियो। उनी पनि कहिलेकाँही भलिबल खेल्थे। तर उनलाई भलिबलमा भन्दा फुटबलमा रुची थियो।

घरमा लाहुरे बाजे थिए। बुबा सानैमा बिते। आमाको रेखदेख र स्याहारसुसारमा हुर्किएका राजाबाबु आफ्नै पारामा हुर्किए। साथीहरुसँग झुम्रो र मोजाको बल खेल्दै हुर्केका राजाबाबु स्थानिय भुपु सैनिक स्कुलमा अध्ययन गर्थे। तर उनलाई पढ्न भन्दा खेल्न मज्जा लाग्थ्यो। घरमा पनि उनलाई छेकबार थिएन।

अग्लो कद, पातलो शरीर, फुर्तिलो ज्यानका राजाबाबु गाउँमा लोकप्रिय थिए। उनलाई सबैले ‘तँ राम्रो खेल्छस्, गोलकिपरमा राम्रो छस्, गोलकिपर नै खेल’ भनेर हौस्याउँथे। अरुले फरवार्ड र स्ट्राइक रोज्थे तर उनलाई कहिल्यै फरवार्ड र स्ट्राइकर बन्ने रहर लागेन। बरु गोलकिपरमै रमाइरहे।

व्यवसायिक फुटबलबारे खासै ज्ञान नभएका राजाबाबुलाई एक दिन स्याङ्जाकै फुटबलर लक्ष्मण रुचालले ‘ब्यबसायिक फुटबल खेल्ने हो ? भनेर सोधे। हो भन्ने वित्तिकै लक्ष्मणले भने, च्यासल फुटबल क्लवमा गोलकिपर खोजेको छ, जाउँ त्यहाँ गएर भेट’। लक्ष्मणको सुझावलाई मनन् गर्दै उनी च्यासल पुगे। च्यासलमा उनको नाम एकैपटक ओके भयो। राजाबाबु गएपछि च्यासललाई लक लाग्यो। उनी गएकै वर्ष च्यासल ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लियो। त्यसमा राजाबाबुको योगदान महत्वपूर्ण रह्यो।

च्यासलमै रहेका बेला राजाबाबुलाई थ्रीस्टारको अफर आयो। देशकै अब्बल क्लवको अफर आएपछि उनले नाई भन्नै सकेनन्। जान त गए तर थ्रीस्टारमा उनले सोंचेजस्तो भएन। दोश्रो रोजाइमा परेका उनले करिब एकवर्ष बिताउँदा पनि खेल्ने अवसर पाएनन्। जसका कारण उनलाई थ्रीस्टारमा बसिरहन मन लागेन। उनले भने, ‘जब खेल्नै पाईंदैन भने बसेर मात्र के गर्नु भनेजस्तो लाग्यो, त्यसपछि थ्रीस्टार छा्ड्ने निर्णय गरेँ।’

थ्रीस्टारबाट पहिलो रोजाइको गोलकिपर भएर उनी संकटामा गए। चार वर्षदेखि संकटामा रहेका उनले गतवर्ष सहारा क्लव पोखराको आयोजनामा भएको आहारारा गोल्डकपको उपाधि समेत जिताए। संकटालाई उक्त प्रतियोगिताको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका उनले प्रतियोगिताकै सर्वोत्कृष्ट (बेस्ट प्लेयर)सँगै उत्कृष्ट गोलकिपर र फाइनल खेलको म्यान अफ दी म्याचसमेत भए।

संकटाका नियमित गोलकिपर राजाबाबुलाई राष्ट्रिय टिमबाट खेल्ने धोको छ। उनको त्यो धोको पूरा हुन्छ वा हुँदैन थाहा छैन। उनी भन्छन्, ‘राष्ट्रिय टिमबाट खेल्ने मन छ, तयारी र प्रयास गरिरहेको छु, हेरौं भाग्यले कत्तिको साथ दिन्छ।’ संकटाका पूर्व प्रशिक्षक सल्यान खड्गीदेखि हालका प्रशिक्षक विष्णु गुरुङसम्मले उनलाई राष्ट्रिय टिमको पहिलो रोजाइको गोलकिपर बन्नसक्ने खुबी भएको भन्दै निरन्तर प्रयास गरिरहन हौसला दिने गरेको उनले बताए। उनलाई आफ्नी आमाले पनि निरन्तर हौसला दिने गरेकी छन्। भन्छन्, ‘मेरो स्ट्रेन्थ भनेको ममी हो, म अहिले जहाँ छु यसको सबै श्रेय ममीलाई जान्छ,’ उनले भने।

नेपालमा फुटबल अझैपनि व्यवसायीक नबनेकोमा भने उनलाई दुःख लाग्छ । ‘हामी खेलाडीलाई खेलुञ्जेल राम्रो छ तर खेल्न छाडेको दिन भविष्य अन्योल छ’–उनले भने । कोभिड–१९ को असरले पनि खेल जीवनमा नकारात्मक असर परिरहेको उनको भनाई छ । यहि कारण उनलाई कहिलेकाहीं लाहुरे नबनेकोमा पछुतो लाग्छ । तर लाहुरे बन्ने समय पार गरिसकेका उनी भन्छन्,‘अब फुटबल नै मेरो सम्पूर्ण हो, यसैमा जीवन समर्पण गर्छु ।’

प्रकाशित: १७ माघ २०७८ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App