१५ चैत्र २०८० बिहीबार
खेल

इक्वेडरसँग ब्राजिलको बराबरी

गोलकिपर एलिसन बेकरलाई दुई पटक रातो कार्ड देखाइए पनि भिडियो सहायक रेफ्री (भिएआर) उल्टाएको विश्वकप छनोट खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

फिफा विश्वकप छनोटअन्तर्गत बिहीबार लिएको सुरुआती अग्रता जोगाउन नसक्दा विश्वकपमा सर्वाधिक सफल टोली ब्राजिल बराबरीमा रोकिएको हो। एलिसनले पहिलो हाफमा बल रोक्ने प्रयास गर्दा विपक्षी खेलाडीको अनुहारमा बुटले लागेको थियो। तर पछि भिएआरमा हेर्दा रातो कार्डका लागि उपयुक्त रहेको थिएन।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले छैटौं मिनेटमा कासेमिरोले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। १५औं मिनेटमा एलेक्सजेन्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटिएको थियो।

२०औं मिनेटमा इमर्सन रोयलले रातो कार्ड पाएपछि ब्राजिल पनि १० खेलाडीमा सीमित हुँदा दुवै टोलीको खेल पुनः प्रतिस्पर्धात्मक भएको थियो। त्यसपछि खेलको ७५औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो। यस बराबरीसँगै ब्राजिलले १४ खेलमा ३६ अंक जोडेको छ।

विश्वकपमा छनोट भइसकेको ब्राजिल शीर्ष स्थानमा रहेको छ। इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा छ। इक्वेडरका अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारो चार पटक प्रयोग गरिएको भिएरआरप्रति आक्रोशित भए।

‘खेल दौरानमा भएको भिएआरका प्रयोगले हामी चकित भएका छौं। तनावपूर्र्ण खेल भएको हो। तर निर्णय सही तरिकाबाट हुन सकेन,’ प्रशिक्षक अल्फारोले भने, ‘धेरै विवाद म गर्न चाहन्नँ। मेरो चाहना भनेको न्याय हो। हामीलाई ऐतिहासिक क्षण कोर्ने मौका गुमेको छ।’ छनोटअन्तर्गत नै उरुग्वेले पाराग्वेलाई १–० ले हराएको छ। उरुग्वेको जितमा लुइस स्वारेजले ५०औं मिनेटमा निर्णायक गोल गरे। उरुग्वे १९ अंक जोडेर चौथो स्थानमा रहेको छ। पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ।

छनोटअन्तर्गतकै अर्को खेलमा नियमित कप्तान लियोनल मेसीविना खेलेको अर्जेन्टिनाले शुक्रबार चिलीलाई २–१ ले हरायो। कोभिड–१९ संक्रमित भएका मेसी पूर्ण रूपमा फिट नभएका कारण अर्जेन्टिनाको टोलीभन्दा बाहिर रहेका थिए। अर्जेन्टिनाले एन्जेल डी मारियाको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो।

चिलीका बेन ब्रेरेटनले २१औं मिनेटमा बराबरी गोल फर्काए पनि ३४औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक भएको थियो। अर्जेन्टिनाले जितसँगै १४ खेलबाट ३२ अंक जोडेको छ।

पराजित चिली भने १६ अंकका साथ सातौं स्थानमा छ। दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउँछन्। पाँचौं स्थानमा रहने टोलीले प्लेअफबाट मौका खोज्नुपर्नेछ। अर्जेन्टिना र ब्राजिल जारी विश्वकप छनोटमा अहिलेसम्म अपराजित टोली हुन्।

प्रकाशित: १५ माघ २०७८ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App