१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दावा

शनिबार हुने फाईनलको पूर्वसन्ध्यामा उपाधि उचाल्दै मनाङ मर्स्याङ्दी र एपीएफका प्रशिक्षक एवं कप्तान । तस्बिरः उमेश पुन/नागरिक

दुई विभागीय क्लब आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विमुख छन्। एउटा विभागीय क्लबले इतिहास कोरेको छ। पोखराको मैदानमा सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मीले उपाधि उचाल्ने अवसर नै पाएका छैनन्। पुलिसले आहारारा गोल्डकपमा सुनौलो इतिहास लेखिसकेको छ।  

इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउने चाहना भने मनाङ मर्स्याङ्दी क्लबको छ।  

मोफसलका नकाउट फुटबल प्रतियोगितामा विभागीय टोलीभन्दा मनाङ मर्स्याङ्दी केही बलियो मानिन्छ। उपाधिको संख्याले त्यसलाई प्रमाणित गरेको छ। यद्यपी एपीएफले विदेशी खेलाडीलाई आफ्नो जर्सीमा उतार्दै पोखराको मैदानबाट उपाधि बोकेर कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा उर्जाशील हुने सोचमा छ। पोखराको घरेलु मैदानमा मनाङले उपाधि रक्षा गर्दै बनाईराखेको शाखलाई जोगाउँदै इतिहासमा एउटा अध्याय थप्ने आत्मविश्वासी देखिएको छ।

१४ वर्षपछि फाईनलमा पुग्नु सशस्त्रको लागि आफैंमा इतिहास हो। फाईनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग हारको इतिहासलाई एपीएफले यो वर्ष दोहोर्याउन चाहँदैन। पुरानो इतिहासलाई सच्याउँदै उपाधि उचालेर नयाँ इतिहास प्रारम्भ गर्ने एपीएफको तयारी छ।  

‘कोभिडको बेला सहाराले गरेको तयारी निकै सह्रानीय छ। त्यही अनुरुप हामीले पनि उपाधि उचाल्ने तयारी छौं। सहाराको दुःखलाई हामीले न्याय संगत तरिकाले प्रस्तुत हुने छौं,’ फाईनलको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बलका प्रशिक्षक कुमार थापाले भने, ‘गोल्डकपमा हामीले तीन खेल खेलिसकेका छौं। शुरुवातदेखि हामीले खेलमा सुधार्दै गएका छौं। फाइनलमा अझ सुधार हुन्छौं।’  

सहाराले २० औं संस्करणसम्म जसरी ‘सक्सेस’ गरेको छ त्यसरी नै हामी पनि ‘सक्सेस’ हुन्छौं भन्ने उनको अभिव्यक्ति थियो। मनाङ मर्स्याङ्दी क्लब आफैंमा उत्कृष्ट टिम भएको भन्दै हामी पनि कम छैनौं भन्ने सन्देश उपाधि उचालेर दिने उनको भनाई थियो।  

एपीएफका कप्तान नविन लामाले आहारारा गोल्डकप उचाल्ने सपनालाई शनिबार पोखराको मैदानमा पुरा गर्ने विश्वासी देखिए। ‘फाईनल खेल हाम्रो लागि निकै ‘टफ’ हुन्छ,  १४ वर्षपछि हामी फाईनलमा पुगेका छौं। दवाब(प्रेसर) त हामीलाई छ तर खेल निकै रोमाञ्चक हुन्छ,’ उनले भने, ‘मेरो सानोदेखिको सपना टाईटल जित्ने हो। फाईनल जितेरै जान्छौं। मनाङ राम्रो टिम हो। उनीहरुलाई विट गरेर उपाधि उचाल्ने चाहना छ।’  

एपीएफले उपाधि आफनै नाममा लेखाउन दाबी गरिरहँदा मनाङ मर्स्याङ्दी  पनि आफ्नै घरेलु मैदानबाट उपाधि विमुख यात्रा अगाडि बढाउन चाहँदैन। एपीएफसँग उपाधिकै लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा मनाङ मर्स्याङ्दी प्रशिक्षकले गरेका छन्। ‘फाईनलमा पुग्नु खुशीको कुरा हो। हामी फाईनल प्रवेश गरेका छौं। आशा छ हामीले पुनः उपाधि जित्ने छौं,’ मनाङ मर्स्याङ्दीका प्रशिक्षक फुजा तोपेको भनाई थियो। एपीएफले आश्चर्यजनक रुपमा खेलमा सुधार गर्दै अघि बढेको छ। हरेक अवस्थालाई धकेलेरै अघि बढिरहेको छ। उपाधिको लागि हामीले फाइनलमै टिमको रणनीति बनाउने उनले स्पष्ट पारे।  

फाईनलमा मनाङ मर्स्याङ्दी दबाबमा नरहेको कप्तान विमल रानाको भनाईबाट बुझिन्छ। ‘खेल हो, जे पनि हुन सक्छ। सेमिफाईनलमा पेनाल्टी खेर फालेको घटनाले पाठ सिकाएको छ। पेनाल्टी खेर गएको भनेर कसैले केही दबाव दिएका छैनन्,’ उनले भने, ‘पेनाल्टी खेर जानु नै फाईनल पुग्ने अवसरको रुपमा लिएका छौं। केही गर्न पर्छ भन्ने हौसला मिलेको छ। फाईनल खेल अझ राम्रो हुन्छ जस्तो लाग्छ।’ उनले टोलीका चारजना खेलाडी नेपाली राष्ट्रिय टोली परेको बताउँदै नयाँ युवाहरुलाई समेट्दा टिम सेट हुन समय लागिरहेको बताए।  

फाईनल अघि नै एपीएफका चार खेलाडीले दोहोरो पहेलो कार्ड पाएका छन्। दुई पहेलो कार्ड पाएकै कारण चार खेलाडीले फाईनल खेल्ने पाउने सम्भावना कम छ। एपीएफका आभास लामिछाने, प्रदिप लामा, सविन थापा र अफ्रिकन खेलाडी दोम्बियाले दोहोरो पहेलो कार्ड पाएका छन्। प्रदिप लामा र सविन थापाले सहारासँग(प्रिक्वार्टर) र मछिन्द्रसँग(सेमीफाईनल), दोम्बिया र अभाषले भुटानिज युथ स्पोर्टस क्लब(क्वार्टरफाईनल) र मछिन्द्रसँग(सेमिफाईनल)को खेलमा कार्ड पाएका थिए।  

‘म गलत पनि हुन सक्छु, अझैसम्म पनि मैले हाम्रा कुन खेलाडी प्रतिबन्धमा परे थाहा छैन। मेरो रणनीति अनुसार सेट टिम नै खेलाउँछु, कुनैपनि खलाडी सस्पेन्ड छैन भन्ने लागेको छ,’ प्रशिक्षक थापाको भनाई थियो, ‘अर्को कुरा मनाङ मर्स्याङ्दीले अनुबन्धन गरेर ल्याएको खेलाडी कानूनी रुपमा कसरी आउन मिल्यो त्यो एउटा प्रश्न छ। लिगमा मनाङ र एनआरटी खेल्नै बाँकी छ। लिग नसकिँदै एनआरटीको खेलाडी कसरी ल्याईयो। लिगको स्थगित(ब्रेकमा) सहाराले प्रतियोगिता राख्दा निकै खुशी भएको भन्दै नकारात्मक गर्न खोजेको नभई त्यसलाई सुधार गर्न पर्छ कि भन्ने मात्र हो।’

प्रतियोगिताको नियमावलीको १४ मा चेतावनी र निष्कासनको शीर्षकको ‘क’ मा खेल दौरान कुनै खेलाडीले एकपटक पहेंलो कार्ड पाएमा निजलाई चेतावनी दिईने छ। सोही खेलाडीले पुनः अर्को पटक पहेंलो कार्ड पाएमा सोही खेलमा तथा आगामी अर्को एक खेल खेल्नबाट बञ्चित गरिने छ’, उल्लेख छ। प्रतियोगिताका म्याच कमिसनर गोकुल थापाका अनुसार दुईवटा पहेंलो कार्ड पाएका खेलाडीले अर्को खेल बन्चित हुन्छ। ‘दुईपटक पहेलो कार्ड काउण्ट भएपछि अर्को खेल बन्चित हुन्छ।’ उनले भने, ‘एपीएफका चार खेलाडीले दुई पहेंलो कार्ड पाएका छन् त्यसैले फाईनल बन्चित हुन्छन्।’  

हिमश्री फुड्सको मुख्य प्रायोजन र सहारा क्लबको आयोजनामा सञ्चालित २० औं संस्करणको आहा रारा गोल्डकपको शनिबार उपाधि छिनोफानो हुने छ। गोल्डकप विजेताले १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्दा उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार नगदसहित ट्रफी प्राप्त गर्दै वर्षदिनको लागि क्लबले गोल्डकपलाई विट मार्ने छ।

प्रकाशित: १४ माघ २०७८ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App