१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिकेट रङ्गशाला अलपत्र पर्दैनः मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन्। भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका हुन्।

नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रङ्गशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रङ्गशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए। कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको सिङ्गो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीले अध्ययन थाल्ने बताए। रङ्गशाला सम्पन्न गर्न स्थानीयवासीको चासो हुनुपर्ने भन्दै उनले भने, 'तपाईंहरु एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ।'

केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रङ्गशाला सम्पन्न हुने उनको भनाइ थियो। खेलकुदका पूर्वाधार बजेटको अभावमा अलपत्र परेको भन्दै दातृ निकायसँग आर्थिक सहयोगका लागि कुराकानीसमेत भइरहेको उनले बताए। रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले यो परियोजना स्थानीयस्तरबाट सम्पन्न गर्न कठिन हुने भएकाले यसको नेतृत्व सङ्घीय सरकाले लिएर सम्पन्न गर्नुपर्ने बताए।

भरतपुरमा निर्माणाधीन रङ्गशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ। सो आयोजना सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ। फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ।

अन्तर्क्रिया कार्यक्रमअघि मन्त्री गहतराजसहितको मन्त्रालयको टोलीले काम रोकिएको रङ्गशालाको निरीक्षण गरेको थियो। सो अगवसरमा महानगर प्रमुख दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १३ माघ २०७८ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App