५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।  

‘बजार नजिकको ठाउँमा खुल्ला जमिन नभएकाले निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु गरिएको छ,’ परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भने, ‘स्थानीय सरकारले जग्गाको टुंगो लगाउने वित्तिकै रंगशाला निर्माणले गति लिन्छ।’

सदस्य–सचिव सञ्ज्यालले स्थानीय तहका जनप्रतिनिधिसहित क्रिकेट रंगशाला निर्माणस्थलको अनुगमन गरेर लागत स्टिमेट निकालिएको बताए। ‘जग्गा प्राप्ति लगत्तै यो वर्ष क्रिकेट रंगशाला निर्माण हुने मैदान सम्याउने काम गछौं,’ उनले भने, ‘अर्को वर्ष प्रदेश र संघ सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रियस्तरको रंगशालाको टेन्डर प्रक्रिया सुरु हुन्छ।’

सञ्ज्यालले नेपालमै पहिलो पटक भलिवलको कवर्डहल पनि निर्माण सुरु गरिएको बताउँदै क्रिकेट परिषद्को प्राथमिकतामा रहेको बताए। उनले जमिन नहुँदा भनेजति र आवश्यक भएपनि संरचना बनाउन नसकिएको बताए।

उनले खेलाडी र खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिस्पर्धामा जोड दिनुपर्ने बताए। प्रदेश खेलकुद परिषद्ले यसमा विशेष ध्यान दिएको उनले बताए। कर्णाली प्रदेश क्रिकेटमा पछाडि नै भएपनि खेलाडीको प्रस्तुति उत्साहजनक भएकाले अझै मेहनत गर्नुपर्ने उनले बताए।

कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद गर्ने लक्ष्यका साथ परिषद अगाडि बढेकोले यसलाई मध्यनजर गरेर भएपनि समयमै पूर्वाधारहरु निर्माण गर्नुपर्ने उनले बताए।

नेपाल क्रिकेट संघका सदस्य पदमबहादुर खड्काले कर्णाली प्रदेशमा उपयुक्त खेल मैदान नहुँदा क्रिकेट खेलाडीहरु प्रदेश बाहिर गएर अभ्यास गर्नुपरेको बताए। उनले कर्णाली प्रदेशमा अभ्यास खेल खेल्नसमेत उपयुक्त पूर्वाधार नभएकाले यसमा सरकारले ध्यान दिनुपर्ने उनीहरुले बताए। ‘अहिले नै हाम्रा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न सक्षम भएका छन्,’ उनले भने, ‘अहिलेका खेलमै भविष्य खोजेर लागेका खेलाडीहरुलाई पूर्वाधारको कमी नहुनेगरी राज्य वा नेतृत्वले सोच्नुपर्ने जरुरी छ।’

कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले परिषद् बनेदेखिनै खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा छलफल चलिरहेको बताए। ‘खेलाडीलाई प्रोत्साहन गर्न पहिलो आवश्यकता त पूर्वाधार नै देखिन्छ,’ उनले भने, ‘तत्कालका लागि क्रिकेटको अभ्यास खेलका लागि उपयुक्त हुने मैदान नेतृत्वले खोज्न सके परिषदले बलिङ मेसिनको व्यवस्था गरीदिनेछ।’

जिल्ला क्रिकेट संघमा केसी

सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति चयन गरिएको छ। बिहीबार भएको चुनावी साधारणसभाले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको जिल्ला अधिवेशन निर्वाचन समितिको कार्यालयले जनाएको छ।

संघको अध्यक्षमा श्रीधर केसी चयन भएका छन्। यस्तै उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन्। सदस्यहरुमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक विक्रम शाही, भुवन कोईराला, रोशन शाही, बिदुर केसी, सम्राट राई चयन भएका छन्।

प्रकाशित: ६ माघ २०७८ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App