१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नाडालको सानदार सुरुआत

विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई भिसा अनुमति अस्वीकृत गरेको घटनाले चर्चा पाएपछि भएको वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा सोमबार राफाइल नाडालले सानदार सुरुआत गरेका छन्।

डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले दोस्रो चरणमा स्थान बनाउँदा युवा खेलाडी कोको गौफ भने वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनबाट सुरुमै बहिर्गमन हुन बाध्य भइन्। १७ वर्षीया अमेरिकन स्टार गौफ चीनकी वाङ किङसँग सोझो सेटमा नै स्तब्ध भएकी हुन्।

९ पटककी अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचलाई डिपोर्ट गरेपछि नाडाललाई यस पटक सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बन्ने अवसर छ। जहाँ उनले ६६औं वरीयताका मार्कोस थिरोनलाई ६–१, ६–४ र ६–२ ले हराउँदै सानदार सुरुआत पनि गरेका छन्। उनीहरू (नाडाल र जोकोभिच) सम्भवतः अन्तिम पटक सँगै अस्ट्रेलियन ओपन खेल्नेमा नाडाल विश्वस्त थिए। तर, त्यसो हुन सकेन।

नाडालले आफ्नो महान् प्रतिद्वन्द्वी सर्बियन स्टार जोकोभिचका बारेमा कुरा गर्दागर्दै थकित भएको उल्लेख गर्दै उनीप्रति कयौं सम्मान रहेको बताएका छन्। ‘विश्वकै उत्कृष्ट खेलाडी कोर्टमा खेलिरहेका छन् भने मात्र त्यो खेल प्रतिस्पर्धाका लागि आदर्श अवस्था हो तर यसपटक यो हुन सकेन,’ जोकोभिचको अनुपस्थितिबारे नाडालले भने, ‘उनलाई सदैव शुभकामना दिन चाहन्छु।

यो अवस्था हुनुमा पक्कै पनि राम्रो होइन। उनले मात्र गलत काम गरेका होइनन्।’ नाडालले अर्को चरणमा जर्मन यानिक हान्फमनविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्। जहाँ उनी जर्मन प्रतिद्वन्द्वीलाई हराउँदै आफ्नो विजययात्रा कायमै राख्न चाहन्छन्।

जोकोभिच दुबईमा

अस्ट्रेलियाद्वारा अपमानजनक डिपोर्ट भएपछि भ्याक्सिन नलगाएका जोकोभिच सोमबार बिहानै दुबई पुगेका छन्। दशौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने उनको लक्ष्य यस पटक अधुरै रह्यो। अर्की डिफेन्डिङ च्याम्पियन जापानकी ओसाकाले भने मेलबर्न सिटीमा पछिल्ला २४ खेलमध्ये २३औं जित दर्ता गरिन्। उनले कोलम्बियाकी कामिला ओसोरियोलाई ६–३ र ६–३ ले हराउँदै सुखद सुरुआत गरिन्।

१३औं वरीयतामा रहेकी ओसाकाले गत वर्ष डिप्रेसनका कारण धेरै दुखद स्थिति सामना गर्नुपर्‍यो। यस पटक भने उनले आफ्नो राम्रो लय देखाइन्। उनले ६८ मिनेटमा नै विपक्षीमाथि ५–० को अग्रता लिएकी थिइन्।

‘आज मैले धेरै सहज महसुस गरेको छु,’ सन् २०१९ र २०२१ मा मेलबर्न पार्कमा उपाधि जितेकी २४ वर्षीया ओसाकाले भनिन्। अब उनले दोस्रो चरणमा अमेरिकन प्रतिद्वन्द्वी म्याडिसन ब्रेन्गलविरुद्ध खेल्नेछिन्।

चौथो वरीयता प्राप्त चेक रिपब्लिककी बारबोरा क्रेजचिकोभाले जर्मनीकी आन्द्रिया पेतकोभिचलाई ६–२ र ६–० ले हराउँदा ६७ मिनेट मात्र खर्चिन्। फ्रेन्च ओपन च्याम्पियन बारबोराले अर्को चरणमा चीनकी वाङ सियुसँग खेल्नेछिन्।

पहिलो चरणबाटै बाहिरिने स्टार खेलाडीमा १२औ वरीयताका ब्रेटनका खेलाडी क्यामरुन नोरी रहे। उनी अमेरिकन खेलाडी सेबास्टियन कोर्डासँग ६–३, ६–० र ६–४ ले पराजित भए। सेबास्टियन सन् १९९८ मा अस्ट्रेलियन ओपन च्याम्पियन पेट कोर्डाका छोरा हुन्।

प्रकाशित: ४ माघ २०७८ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App