१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गणेशको राष्ट्रिय कीर्तिमान

नेपाल पुलिसका गणेश रानाभाटले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

थिमीस्थित थिमी पार्टी प्यालेसमा मंगलबार प्रतियोगिताको सिनियर पुरुष ५५ केजी तौलसमूहमा रानाभाटले क्लिन एन्ड जर्कमा १ सय १ केजी भार उठाउँदै नयाँ कीर्तिमान बनाएका हुन्।

उनले त्रिभुवन आर्मीका तुलाराम महतोले मंगलबार नै सुधार गरेको सय केजीको कीर्तिमान भंग गरे। तेस्रो सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा तुलारामको नाममा ९८ केजी तौल उठाएको कीर्तिमान थियो। मंगलबार नै तुलारामले त्यो रेकर्ड सुधार गरे पनि सोही दिन गणेशले १ सय १ केजीको नयाँ कीर्तिमान बनाए। समग्रमा भने तुलाराम नै पहिलो भए।

उनले स्न्याचमा ८३ केजी र क्लिनमा सय केजी गरी समग्रमा १ सय ८३ केजी भार उठाए। गणेश भने दोस्रो स्थानमा सीमित भए। उनले स्न्याचमा ७२ केजी, क्लिनमा १ सय १ केजी गरी समग्रमा १ सय ७३ केजी उठाए। बर्दियाका रामकुमार थारू तेस्रा भए।

उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरी कुल १ सय ५५ केजी भार वहन गरे। नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको उमेर समूहअन्तर्गत युथमा पर्साका राजन पटेल पहिलो भए। उनले स्न्याचमा ४२, क्लिन एन्ड जर्कमा ६० केजी गरी कुल १ सय २ केजी भार उचाले। जुनियरमा बाँकेका विनीत योगी थारूले स्वर्ण जित्दा स्न्याचमा ७० केजी, क्लिनमा ९० केजी भार उठए।

पर्साका धीरज गुप्ता दोस्रो हुँदा स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुल १ सय ४५ केजी भार वहन गर्न सफल भए। बर्दियाका सुदीप थारू कुलमा १ सय ४० केजीका साथ तेस्रो भए। उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार वहन गरे।

महिला युथ ४५ केजीमा बर्दियाकी अरूणिमा थारूले स्वर्ण र सप्तरीकी अम्बिका यादवले रजत पदक जिते। अरूणिमाले स्न्याचमा ३८ केजी, क्लिन एन्ड जर्कमा ५० केजी गरी कुल ८८ केजी भार वहन गर्दा अम्बिकाले स्न्याचमा ३० र क्लिनमा ३५ केजी गरी कुल ६५ केजी भार उठाइन्।

उद्घाटनको अवसरमा दशौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकविजेता कमलबहादुर अधिकारी र १३औं सागका स्वर्णविजेता विकास थापा र सञ्जु चौधरीलाई संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ एवं समाजसेवी पूर्णशंकर श्रेष्ठले नगदसहित सम्मान गरे। पूर्णशंकरले व्यक्तिगत रूपमा नगद १० हजार रूपैयाँसहित सबैलाई प्रशंसापत्रबाट सम्मान गरेका हुन्।

४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्न्याचमा ३५ केजी र क्लिनमा ४१ केजी गरी कुल ७६ केजीका साथ स्वर्ण जितिन्। दाङकी निशा चौधरीले स्न्याचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजी उचाली रजत र झापाकी सोनीदेवी दासले स्न्याचमा २८ केजी, क्लिनमा ४० केजी गरी कुलमा ६८ केजी भारका साथ कांस्य पदक जितिन्।

सिनियर महिला ४५ केजीमा आर्मीकी मनीषा रानाभाटले स्वर्ण जितिन्। उनले स्न्याचमा ५२ केजी र क्लिनमा ६१ केजी गरी कुल १ सय १३ केजी भार उठाइन्।

झापाकी करिना चौधरी स्न्याचमा ४८ केजी, क्लिनमा ६१ गरी कुलमा १ सय ९ केजी भार उठाउँदा दोस्रो भइन्। पुलिसकी हीरामती थारू तेस्रो भइन्। उनले स्न्याचमा ४६ केजी र क्लिनमा ५५ केजी गरी १ सय १ केजी भार उठाइन्।

महिला ४९ केजीमा पुलिसकी संगीता राईले स्वर्ण र तिला राईले रजत पदक जिते। संगीताले स्न्याचमा ५५ केजी र क्लिनमा ७३ केजी गरी कुल १ सय २८ केजी भार वहन गरिन्। तिलाले स्न्याचमा ४३ केजी, क्लिनमा ५२ केजी गरी कुल ९५ केजी भार उचालिन्।

प्रकाशित: २८ पुस २०७८ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App