१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकपः २०औं संस्करण माघ ६ गतेदेखि

२० औं संस्करणको आहा रारा गोल्डकपको बारे जानकारी दिदैं सहारा क्लबका अध्यक्ष सहित पदाधिकारीहरु। तस्बिर: उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमण बढिरहँदा सहारा क्लब भने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ। यतिबेला कोरोनाको त्रास फेरी बढ्न थालेको छ। दुई वर्ष अघि पनि सहाराले कोरोना त्रासकै बीचमा १८ औं र १९ औं संस्करणको गोल्डकपलाई टुंग्याएको थियो। दर्शकका लागि सिट व्यवस्थापन गरेरै २० औं संस्करणको गोल्डकप गर्न आँटेको सहाराले बताएको छ।

आगामी माघ ६ देखि १५ गतेसम्म अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति दिएको छ। त्यही मितिमा क्लब २० औं संस्करण टुंग्याउने योजनासहित अन्तिम तयारी तर्फ अघि बढेको छ। २० औं संस्करणको गोल्डकपको लागि १० टोलीको नाम समेत क्लवले सार्वजनिक गरेको छ। आहा रारा गोल्डकपको २० औं संस्करणमा उपाधि प्रतिस्पर्धाको लागि अमेरिकन क्लब नेपाल आईपुगेको छ। यसअघि क्यामरुन, भारत, जापान र युकेको टोली आहा–राराको स्पर्धामा भाग लिन यसअघि नै नेपाल आएका थिए। २० औं संस्करणको गोल्डकप खेल्न केही दिन अघि मात्रै अमेरिकन टोली बुद्धिष्ट युथ सकर क्लब(बीवाईएससी) नेपाल आईपुगेको हो।  

अमेरिकन क्लबसँगै डिफेण्डिङ च्याम्पियन संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपीएफ कलब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा कलब, त्रिभुवन आर्मी क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उत्कृष्ठ खेलाडीलाई स्कुटर प्रदान गरिने छ। सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गरेका छन्।  

पत्रकार सम्मेलनमै क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले कोरोना त्रासकै बीचमा आयोजना गरिने फुटबल प्रतियोगिताको लागि प्रशासनसँग सहकार्य गरेरै अघि बढ्ने बताए। १६ हजार ५ सय सिट क्षमताको प्यारापिटमा आधा क्षमतामा मात्रै दर्शक राखेर प्रतियोगिता सञ्चालन गरिने उनले सुनाए। हिमश्री फुड्सको मुख्य प्रायोजन, सर्वोत्कृष्ठ खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटरले गरेको छ।

उत्कृष्ट विधाको पुरस्कार प्रायोजन भने उद्यमी सुर्यबहादुर केसी परिवारले गरेका छन् । सुर्यबहादुर केसी स्मृति बेष्ट फरवार्ड, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्ड, बेष्ट प्रशिक्षक प्रदान गरिने छ। पत्रकार सम्मेलनमै मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका किरण केसीले सहारासँगको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै युवा पुस्तालाई अघि बढाई समृद्धिको लागि एकेडेमीलाई सहयोग गरिएको बताए।  

ए डिभिजनको लक्ष्य

मोफसलकै अग्रणी क्लब सहाराले सी डिभिजन लिग खेल्दै ए डिभिजनको यात्रा तय गर्ने जनाएको छ। मोफसलकै क्लबलाई ए डिभिजन सिधै नदिने भन्दै क्लबले ए डिभिजनको लागि सी डिभिजनबाट अघि बढ्ने सहारा क्लबले जनाएको छ। ‘ए डिभिजन खेल्न सी डिभिजनबाटै अघि बढ्छौं।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। क्लबले एक दशक अघि नै बी डिभिजन खेल्ने क्रममा सहारा क्लबलाई रोक लगाएको थियो। बी डिभिजनमा उत्कृष्ट नजिता आत्मसात गर्दै ए डिभिजनमा उक्लिने सम्भावना थियो। तर बीचैमा रोक लगाएपछि सहाराले मोफसलकै नकाउट प्रतियोगिता र आहा रारा गोल्डकपमै मात्रै ध्यान दिदैं आएको छ।  

आयव्यय

सहारा क्लबले गतवर्ष आयोजना गरेको १९ औं संस्करणको आहा रारा गोल्डकपको आयव्यय विवरण समेत सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको आयव्यय अनुसार १३ लाख ४९ हजार रुपैयाँ बचत गरेको छ। ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ आम्दानी हुँदा ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ खर्च भएको क्लबले जनाएको छ। क्लबले १८ औं संस्करणमा पोखरा रंगशाला फुटबल मैदानको भाडा स्वरुप ४ लाख रुपैयाँ दिएको थियो। १९ औं संस्करणमा ३ लाख रुपैयाँ भाडा दिइएको क्लबले जनाएको छ।  

प्रकाशित: २६ पुस २०७८ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App