१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

मोतीराम लिग च्याम्पियन

मोतीरामका टेकबहादुर लिम्बूको ह्याट्रिक गोलले जिल्ला लिगको उपाधि जितेको छ।  

शनिबार विराटनगरमा भएको ‘ए’ डिभिजन लिग फुटबलको फाइनल खेलमा मोतीराम स्पोर्टिङ क्लबले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता भएको हो। मध्यान्तर अघि १ गोलले अग्रता लिएको मोतीरामले मध्यान्तरपछि थप २ गोल गर्दै जित निकालेको थियो भने उर्लाबारीले १ गोल मात्रै फर्काउन सक्यो।    

खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए। ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पारे। ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले १ गोल गरे। ७० औं मिनेटमा मोतीरामका लागि फेरि लिम्बूले गोल थपे। खेलको म्यान अफ द म्याच टेकबहादुर लिम्बूले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।  

मोरङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताको विजेता मोतीरामले नगद ५० हजार रुपैयाँ र उपविजेता उर्लाबारीले नगद २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरे। खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, एन्फाका पूर्व सहमहासचिव वसन्त अर्याल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र खेल संयोजक धनकुमार लामालगायतले पुरस्कार वितरण गरे।  

प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको थियो। यसअघि विजेता र उपविजेता रहेको बेलबारी फुटबल क्लब र सम्राट स्पोर्टिङ क्लब अंकविहीन भयो।

प्रकाशित: २४ पुस २०७८ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App