१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

घरेलु मैदानमा युनाइटेडको हार

वुल्भ्सले अन्तरिम प्रशिक्षक राल्फ राग्निकको म्यानचेस्टर युनाइटेडमा अपराजित यात्रालाई पूर्णविराम लगाउँदा  इङ्लिस प्रिमियर लिगमा सोमबार १–० को साँघुरो जित निकालेको छ।

जोओ मोन्टिनोको गोल प्रेरणामा वुल्भ्सले युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा जित निकाल्दा राल्फले प्रशिक्षकका रूपमा आफ्नो अपराजित यात्रामा पूर्णविराम लगाउन पुगे। आफ्नो घरेलु मैदानमा वुल्भ्ससँग ४२ वर्षपछि हार बेहोरे पनि युनाइटेड लिगअन्तर्गत अंकतालिकाको सातौं स्थानमा छ।

शीर्ष चारका लागि युनाइटेड चार अंकले मात्र पछाडि छ। तर, राल्फको टोलीको यस किसिमको प्रदर्शनले उनीहरूलाई लिगको शीर्ष चार यात्रा कठिन बन्न सक्नेछ। ‘हामीले राम्रो खेल्न सकेनौं। न व्यक्तिगत रूपमा न त एकीकृत भएर नै खेल्न सक्यौं,’ आफ्ना सुरुआती चार खेलमा १० अंक दिलाएका राल्फले भने।

आफ्नो टोलीले विपक्षीलाई पूर्ण दबाबमा राखेर खेल्न नसकेको उनको भनाइ थियो। ‘हामीले दबाब नै बनाउन सकेनौं। हामीले केही प्रयास गरेका थियौं। तर, १०/१५ मिनेटपश्चात् हामी दबाबमा राखेर खेल्न असफल भयौं,’ उनले भने, ‘त्यो खेलले नै हामीले धेरै काम गर्न बाँकी रहेछ भन्ने देखाएको छ।

हामी राम्रो फुटबल खेल्नै असफल भयौं। हाम्रा धेरै गल्तीको पनि उनीहरूले फाइदा उठाए।’ युनाइटेडलाई पछिल्ला समय चोटले पनि सताएको छ। सेन्टर ब्याक तथा कप्तान ह्यारी म्याग्वेर, भिक्टोर लिन्डेलोफ र इरिक बेल्लीले पनि चोटका कारण खेल गुमाए।

त्यस कारण पनि प्रशिक्षक राल्फले फिल जोन्सलाई अवसर दिए। पछिल्ला दुई वर्षमा फिलले पहिलो पटक प्रिमियर लिग खेलेका हुन्। तर, इङ्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी युनाइटेडका लागि राम्रो प्रदर्शन गर्नेमध्ये एक थिए, जो आगामी च्याम्पियन्स लिग पनि खेल्ने दाबेदारी प्रस्तुत गर्छन्। युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि युनाइटेडको प्रदर्शनमा सन्तुष्ट छैनन्। ‘हामीले धेरै मिहिनेत गर्नुपर्छ। अहिलेको भन्दा धेरै राम्रो खेल खेल्नुपर्ने आवश्यकता देखिएको छ,’ रोनाल्डोले भने। स्वयम् रोनाल्डोको प्रदर्शनमा पनि सुधार आएको छैन।

गत अगस्टमा युनाइटेडले उसैको मैदानमा वुल्भ्सलाई १–० ले हराएको थियो। उक्त खेलमा डेविड डे हेयाको प्रदर्शन उत्कृष्ट थियो। सोमबार पनि उनले उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदा वुल्भ्सका केही आक्रमण विफल पारेका थिए। पछिल्ला तीन खेलका तुलनामा वुल्भ्सले पहिलो हाफमा राम्रो आक्रमण बुन्यो। गोल गरे पनि वुल्भ्सले खेल भने आफ्नो नियन्त्रणमा राख्न सकेन। ‘इतिहास बोकेको यो स्टेडियममा अर्को जित प्राप्त भएको छ। तर, महत्वपूर्ण पक्ष हामीले कस्तो खेल्यौं भन्ने हो,’ वुल्भ्सका प्रशिक्षक ब्रुनो लेगेले भने, ‘हामीले हाम्रो खेल खेल्यौं। पहिलो हाफ नियन्त्रणमा राखे पनि केही अवसर गुमायौं।’  

यता, युनाइटेडका प्रशिक्षनक राल्फले ब्रुनो फर्नान्डेजलाई सुरुआती टोलीमा राखेनन्। बर्नलीसँग गत बिहीबार ३–१ को जित निकाल्दा पनि फर्नान्डेज निलम्बनका कारण टोलीमा थिएनन्। उनले दोस्रो हाफमा अवसर पाए पनि गोल गर्न सकेनन्। खेल सकिन २३ मिनेट बाँकी छँदा उनको प्रहार क्रसबारमा ठोक्कियो। रोनाल्डोको हेड प्रहार पनि अफसाइड हुन पुग्यो र युनाइटेड स्तब्ध बन्यो। त्यो जितले वुल्भ्सलाई आठौं स्थानमा पुर्‍याउँदा युनाइटेडभन्दा तीन अंकले मात्र पछि छ।

प्रकाशित: २१ पुस २०७८ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App