२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

अन्तरकलेज बास्केटबल बुधबारदेखि

प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।भ्याली पब्लिक माविको आयोजनामा पहिलो पटक कलेजस्तरीय प्रतियोगिता हुन लागेको हो।

प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले भ्याली पब्लिकले विद्यालयस्तरीय प्रतियोगितामा भने यसअघि नै गर्दै आइरहेको छ। पहिलो पटक हुन लागेको अन्तरकलेज प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। कपनको भंगालस्थित विद्यालयको प्रांगणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले प्रतियोगिताका बारेमा जानकारी गराए।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, टाइम्स कलेज, हेराल्ड इन्टरनेसनल कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज इन्टरनेसनल कलेज, ट्रिनिटी इन्टरनेसनल कलेज र एन्जल्स हर्ट कलेज छन्।

समूहका शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्नेछन्। पत्रकार सम्मेलनमा भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमेजर लीलबहादुर गुरुङले कोभिड– १९ का कारण लामो समयसम्म सुस्ताएको विद्यालय खेलकुद गतिविधिलाई प्रतियोगिताले केही हदसम्म भए पनि चलायमान बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे।

आयोजक भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारीले प्रतियोगिताले प्रतिभावान् खेलाडीको पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्दै आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको बताए। उनले यस प्रतियोगिताबाट खेलक्षेत्रलाई नै थप प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले विगतमा भ्याली पब्लिकले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्दै आएकोमा प्लस टुमा पनि अध्ययन सुरु भएकाले पहिलो पटक कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

 उनले विद्यालयस्तरीय बास्केटबललाई पनि निरन्तरता दिने बताए। पुस २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुनेछ।

प्रकाशित: २१ पुस २०७८ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App