२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

हिमालयन शेर्पालाई सुखद् नतिजा

हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई हराएसँगै सोमबारबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण सम्पन्न भयो।

४५औं मिनेटमा विश्वास श्रेष्ठको पेनाल्टी गोलमा हिमालयनले सातदोबाटोलाई १–० ले हराउँदै पाँचौं स्थानमा बस्दै सातौं चरणको अन्त्य गर्‍यो। सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो।

जसलाई विश्वासले सहजै जाली चुमाएका थिए। सातादोबाटोले अन्तिम समयमा खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। इन्जुरी समयको अन्तिम मिनेटमा मार्टिनलाई हिमालयनका अमित श्रेष्ठले लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टी प्रहारका लागि आफैं आएका मार्टिनको फिलतो प्रहार हिमालयनका गोलकिपर दीप कार्कीले विफल पारे।

हिमालयन शेर्पा ७ खेलमा ११ अंकसहित पाँचौं स्थानमा फर्किएको हो। समान खेलमा १७ अंकसहित मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ भने मनाङ मस्र्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा। तेस्रो स्थानको संकटाको १३ अंक छ भने चौथो स्थानको त्रिभुवन आर्मी क्लबको ११ अंक रहेको छ। सातदोबाटो भने समान खेलमा आठ अंकसहित आठौं  स्थानमा छ।

हिमालयन शेर्पाले पछिल्लो तीन खेलमा लगातार सुखद नतिजा ल्याइरहेको छ। हिमालयनका प्रशिक्षक युगलकिशोर राईले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा सो अग्रता जोगाउन कठिन भएको बताए।

‘सातदोबाटोले राम्र्रो प्रदर्शन गर्‍यो,’ युगलले भने, ‘तर मैदानका कारण पनि खेल्न केही कठिन भयो। आजको खेलमा रेफ्रीको निर्णयमा पनि मेरो असन्तुष्टि छ। हामीले गरेको अपिल हाँसोमा उडाएर हामी प्रशिक्षक र समग्र खेलाडीको मजाक उडाउने काम भयो।’

यता लिगमा उत्कृष्ट सुरुआतका बावजुद सातदोबाटोले भने पछिल्ला खेलमा लय भेट्टाउन सकिरहेको छैन। चौथो चरणमा एनआरटीलाई नतिजा सुम्पिएको सातदोबाटोले पाँचौं चरणमा आर्मीसँग गोलरहित बराबरी खेलेको थियो। छैटौं चरणमा भने सातदोबाटोले च्यासललाई १–० को नतिजा सुम्पिएको थियो

सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसी मातृशोकका कारण सोमबारको खेलमा अनुपस्थित थिए। उनकी आमाको आइतबार बिहान निधन भएको थियो। केसीको अनुपस्थितिमा सातदोबाटोको प्रशिक्षण सहायक प्रशिक्षक सुरज महर्जनले सम्हालेका थिए।

‘हामीले राम्रो खेलेका थियौं। अन्तिम मिनेटमा खेलमा फर्कने राम्रो अवसर पाएका थियौंं, तर त्यसको सदुपयोग भने गर्न सकेनौ,’ महर्जनले भने, ‘खेलाडीले पेनाल्टी मिस गर्छु भनेर हान्दैन। मार्टिनले राम्रो प्रहार गरेको हो, हिमालयनका गोलकिपरले राम्रो जज गरे।

हामीले पछिल्ला खेलमा स्वाभाविक लय गुमाएका छौं। आशा छ, छिट्टै लय भेट्टाउँछौं। आजको हारले तालिकामा केही असर गरे पनि लिगमा अझै धेरै खेल बाँकी छन्। हामीले आफ्नो प्रदर्शन सुधार गर्न आवश्यक छ।’

प्रकाशित: २० पुस २०७८ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App