९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

जोखिमपूर्ण निर्णय सही साबित

सातदोबाटो युथ क्लबलाई २–० ले स्तब्ध पारेसँगै जावलाखेल युथ क्लबका प्रशिक्षक किशोरकुमार केसीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफूहरूको शीर्ष चारको लक्ष्य कायमै रहेको प्रतिक्रिया दिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दिनको एक मात्र खेलमा जावलाखेलको जितमा विपिन कँडेल र निकोलस फर्नान्डेजले समान एक गोल गरे।

सुरुआती तीन खेल गुमाएको जावलाखेलले पछिल्लो तीन खेलमा सात अंक जोडिसकेको छ। जावलाखेल तालिकाको नवौं स्थानमा छ। ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै जारी लिगमा अंक खाता खोलेको जावलाखेलले पछिल्लो खेलमा च्यासल युथ क्लबलाई १–० ले निराश पारेको थियो।

पहिलो हाफमा पाएका केही अवसर गुमाएको जावलाखेलका प्रशिक्षक केसीले ४६औं मिनेटमा मिडफिल्डर सुरजज्यू ठकुरीको स्थानमा विपिन कँडेललाई मैदान प्रवेश गराए। मैदान प्रवेश गरेको ४ मिनेटपछि नै विपिनले बललाई जाली चुमाउँदै जावलाखेलको खाता खोलेका थिए।

स्ट्राइकर ओन्गुना जुनियरको क्रसलाई विपिनले सदुपयोग गरेका थिए। ७०औं मिनेटमा फर्नान्डेजले जावलाखेलको अग्रता दोब्बर पारे। लगातार दोस्रो जितपछि अंकतालिकामा आफ्नो स्थान सुधार गरेको भन्दै जावलाखेलका प्रशिक्षक किशोरले खेलाडीलाई धन्यवाद दिँदै टोलीको शीर्ष चार लक्ष्य कायम रहेको बताएका हुन्।

‘आजको जितका लागि खेलाडीलाई धन्यवाद दिन चाहन्छु। टोलीले राम्रो प्रदर्शन गर्दै सहज जित पक्का गर्‍यो,’ किशोरले भने, ‘लगातार राम्रो नतिजा आइरहेको छ। टोलीले लय भेट्टाएको जस्तो देखिएको छ। त्यसैले हाम्रो शीर्ष चारको लक्ष्य कायम छ। हामीले सुरुआती तीन खेल नराम्रो खेलेर हारेका होइनौं। पाएका अवसरमा पोल बाधक बन्दा गोल गर्न नसकेका हाैँ। आज पनि हाम्रा दुईवटा प्रहारमा पोल बाधक बन्यो। थाहा छैन, हाम्रा लागि कहिलेसम्म पोल बाधक बन्छ।’

किशोरले सुरजलाई दिइएको जिम्मेवारी पूरा नगरेकाले उनको स्थानमा पहिलो हाफ लगत्तै दोस्रो हाफमा विपिनलाई मैदान प्रवेश गराउने जोखिम उठाएको र आफू त्यसमा पूर्ण रूपमा सफल भएको बताए। यता पछिल्लो तीन  खेलमा मात्र एक अंक जोडेको सातदोबाटोका प्रशिक्षक मेघराज केसीले बढी आत्मविश्वासी बन्दा जावलाखेललाई नतिजा  सुम्पिनुपरेको बताए।

‘टोलीले राम्रो सुरुआत गरे पनि पछिल्ला खेलमा लगातार स्वाभाविक लय गुमाएको छ,’ मेघराजले भने, ‘सम्भवतः जावलाखेल तालिकामा हामीभन्दा पछि रहेकाले पनि टोलीले उनीहरूलाई कमजोर टोलीका रूपमा लिँदै सहजै नतिजा आफ्नो पक्षमा ल्याउने जस्तो गरे। त्यो नै हारको कारक बन्यो। 

हामी आगामी खेलमा कमजोरी सुधार गर्दै स्वाभाविक लयमा फर्कनेछाैँ।’ सातदोबाटो ६ खेलको समाप्तिमा ८ अंकसहित पाँचौ स्थानमा यथावत् छ। समान खेलमा १४ अंक बटुलेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ भने मनाङ मस्र्याङ्दी १३ अंकसहित दोस्रो, १२ अंकसहित संकटा तेस्रो स्थानमा छ। त्रिभुवन आर्मी क्लब भने १० अंकसहित चौथो स्थानमा छ। साताैँ चरणका खेल शुक्रबारबाट सुरु हुनेछन्।

प्रकाशित: १३ पुस २०७८ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App