८ वैशाख २०८१ शनिबार
खेल

गाईघाटमा ‘ए डिभिजन लिग फुटबल’ सुरु

दोस्रो खेलमा मेधावी जलजलेसँग भिड्दै लालीगुराँसका खेलाडी(निलो जर्सी)। तस्बिरः महेश्वर

उदयपुरमा ‘ए डिभिजन लिग फुटबल प्रतियोगिता ०७८’सुरु भएको छ। सदरमुकाम गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सुरु भएको प्रतियोगिता आउँदो २३ गतेसम्म सञ्चालन हुने छ।  

उद्घाटन खेलमा गाईघाट फुटबल क्लव गाईघाट र लाली गुराँस फुटबल क्लव भागलपुर बेलका १ ले विजयी यात्रा सुरु गरेका छन्। पहिलो खेलमा गाईघाटले त्रियुगा नगरपालिका ४ बगाहा युवा समूहलाई १ का विरुद्ध १० गोल गरेर शानदार जितको सुरुवात गरेको छ। खेल सुरु भएदेखि नै गोल वर्षाउन थालेको गाईघाटका १० खेलाडीले पालैपालो जाली चुमेका थिए। गाईघाटकै एक खेलाडीको गोल भने आत्मघाती हुन पुगेपछि बगाहा निल हुनबाट जोगिएको थियो।

त्यस्तै दोस्रो खेलमा बेलका नगरपालिका १ भागलपुरस्थित लालीगुराँस फुटबल क्लबले मेधावी फुटबल क्लव जलजलेलाई १–० गोलले पराजित गर्न सफल भयो। लालीगुराँसका खेलाडी बिबेक मगरले खेल सुरु भएको ६२ औं मिनटमा गोल गरेर टिमलाई विजयी यात्रामा अघि बढाएका हुन्।  

दोस्रो दिन आईतबार हुने पहिलो खेल फ्यूजन फुटबल क्लव बोक्से र बगाहा फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेलमा चौदण्डीगढीको बेलटार फुटबल क्लव र नवप्रतिभा फुटबल क्लव गाईघाटबीच प्रतिस्पर्धा हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरका अध्यक्ष  रञ्जन कार्कीले बताए।  

प्रतियोगिताको उदघाटन एन्फाका केन्द्रीय सदस्य तथा पूर्व प्रवक्ता किरण राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए। प्रतियोगितामा बेलका, त्रियुगा र चौदण्डीगढीका गरी ८ वटा समूहको सहभागिता हुनेछ। जसमा गाईघाट फुटबल क्लव, फ्यूजन फुटबल क्लव बोक्से, नवप्रतिभा गाईघाट, बेलकाको लालीगुराँस क्लव भागलपुर, चौदण्डीगढीको बेलटार, मेधावी जलजले र बगाहा क्लव तथा बगाहा युवा समूह रहेको कार्कीले बताए।  

प्रथम पुरस्कार ट्रफि र नगद ५० हजार रहेको प्रतियोगिताको उपविजेताले ३० हजार नगदका साथ सिल्ड र प्रमाणपत्र पाउने छ। त्यसैगरी बिभिन्न विधागत पुरस्कारवापत २ हजार नगदका साथ सिल्ड र प्रमाणपत्र दिइने छ। एन्फाले खेल तयारीका लागि लालीगुराँसलाई २५ हजार र अन्य ७ वटा समूहलाई २० हजारका दरले सहयोग गरेको पनि कार्कीले बताएका छन्।

प्रकाशित: ११ पुस २०७८ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App