२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एसियन सेन्ट्रल जोन महिला भलिबल: नेपालको सुखद सुरुआत

दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा बिहीबार सुखद सुरुआत गरेको छ।

बंगलादेशको मिरपुरस्थित सोहरावर्दी राष्ट्रिय इन्डोर स्टेडियममा भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै च्यालेन्ज कपमा सुखद सुरुआत गरेको हो। यससँगै नेपालले श्रीलंकामाथिको विजयअभियानलाई निरन्तरता दिएको छ। यसअघि सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। यस पटक भने श्रीलंकाले नेपाललाई कडा चुनौती दियो। सुरुआती दुई सेट आफ्नो बनाउँदै श्रीलंकाले नेपालमाथि दबाब बनायो।

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि सफलता पाउन सकेन। उक्त सेट श्रीलंकाले २५–२१ ले आफ्नो बनायो। यसपछि भने खेलले रोमाञ्चक मोड लियो। तेस्रो सेट नेपालले २५–१५ ले आफ्नो बनाउँदै बलियो आत्मबल बटुल्यो। तर, चौथो सेटको सुरुआतमा भने नेपाल पछि पर्‍यो। तथापि, नेपालले उक्त सेट २५–१९ ले आफ्नो बनाउँदै सेटमा २–२ को बराबरी गर्‍यो। पाँचौं तथा निर्णायक सेटमा भने एक समय अग्रता गुमाउँदा नेपाल हारको सँघारमा पुगेको थियो। एक समय नेपाल १२–९ ले अघि थियो। तर, श्रीलंकाले लगातार चार अंक थप्दै १३–१२ ले अग्रता बनायो।

यो नतिजाले १३औं सागमा भारतसँग फाइनलमा हारको झझल्को दियो, जहाँ नेपाल अन्तिम समय समालिन नसक्दा ३–२ ले पराजित हुँदै उपाधिविहीन बनेको थियो। तथापि, यस पटक भने नेपाली चेलीले गल्ती गरेनन् र लगातार तीन अंक जोड्दै श्रीलंकामाथि १५–१३ ले रोमाञ्चक जित दिलाए।

यो नतिजासँगै नेपालले श्रीलंकासँगकको भेट ३–३ को बराबरीमा पुर्‍याएको छ। श्रीलंकाले सन् १९९९, २०१० र २०१४ को सागमा नेपाललाई हराएको थियो। नेपालले भने घरेलु मैदानमा सन् २०१५ को दक्षिण एसियाली भलिबल च्याम्पियनसिप र १९औं सागमा श्रीलंकामाथि जित निकालको थियो।

यो जितसँगै नेपालले नतिजा बराबरी गर्‍यो। नेपाली टोली प्रशिक्षक जगदीश भट्टले खेलाडीबाट स्वाभाविक प्रदर्शन हुन नसकेको बताए। ‘सुरुआती दुई सेट अत्यन्तै दबाबमा खेल्नुपर्‍यो। २० प्रतिशत खेल पनि सुरुआती सेटमा खेल्न सकेनौं। सोही कारण दुई सेट गुमाउनुपर्‍यो। तर, जित निकाल्यौं,’ भट्टले भने, ‘यद्यपि म टोलीको प्रर्दशनमा सन्तुष्ट छैन। सुनीता खड्का र शान्ति थारूको प्रदर्शनले उत्साह जगाएको छ।’

बिहीबार नै भएका अन्य खेलमा उज्बेकिस्तानले माल्दिभ्सलाई २५–११, २५–८ र २५–११ ले हराउँदा आयोजक बंगलादेशले किर्गिस्तानसँग २५–१७, २५–२२ र २६–२४ को सोझो सेटमा हार बेहोर्‍यो। महिलातर्फ राउन्ड रोबिनको आधारमा भएको खेलमा ६ टोली समावेश छन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। नेपाल,बंगलादेश र उज्बेकिस्तानले पहिलो खेलमा सफलता निकाल्दै शीर्ष दुईको दाबेदारी प्रस्तुत गरेका छन्। नेपालले शुक्रबार माल्दिभ्ससँग आफ्नो दोस्रो खेल खेल्नेछ। त्यसपछि नेपालले २५ डिसेम्बरमा बंगलादेशसँग तथा लिगको अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ।

पुरुषतर्फ पहिलो खेलमा भने नेपाल आयोजक बंगलादेशसँग सोझो सेटमै स्तब्ध भयो। सहिद सोहरावर्दी इन्डोर स्टेडियममा बिहीबार नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा स्तब्ध भयो। घरेलु टोलीविरुद्ध नेपालले खराब डिफेन्स प्रस्तुत गर्‍यो। साथै बंगलादेशको चुनौतीपूर्ण ब्लकसामु नेपालका स्पाइकर पनि निरीह साबित भए। पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो सेट पनि १७–२५ ले नै गुमाउन पुग्यो। दोस्रो सेटमा १३–१३ को बराबरीको अवस्थाबाट नेपाल पछि पर्‍यो।

तेस्रो सेट पनि २५–१९ ले गुमाउँदा नेपाल सोझो सेटमा पराजित भयो। अब नेपालले दोस्रो खेलमा शुक्रबार उज्बेकिस्तान, तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ। पुरुषतर्फ भने राउन्ड रोबिन लिगमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्ने  तय छ।

प्रकाशित: ९ पुस २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App