६ वैशाख २०८१ बिहीबार
खेल

पहिलोपटक काठमाडौं बाहिर 'ए' डिभिजन लिग हुँदै

लिग सुरु भएको ६७ वर्षपछि बल्ल राजधानी बाहिर

सहिद स्मारक ए डिभिजन लिगको इतिहासमै पहिलोपटक पोखरामा हुन लागेको खेलबारे जानकारी दिदै एन्फा नेतृत्व। तस्बिरः उमेश पुन/नागरिक

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका खेल इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुने भएको छ। लिग सुरु भएको ६७ वर्षपछि पोखरामा इतिहासमै पहिलोपटक लिगका खेलहरु हुन लागेको हो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०११ सालदेखि शुरु भएको थियो। यसबिचमा ३८ वटा संस्करण सम्पन्न भइसकेका छन्। तर, अहिलेसम्म काठमाडौं बाहिर लिगका खेलहरु भएका थिएनन्। लिगको ३९ औं संस्करणका केही खेल  काठमाडौं बाहिर आयोजना हुँदा त्यसको भाग्यमानी सहर पोखरा हुनेछ। लिग खेलिरहेको मनाङमस्र्याङ्दी क्लवले पोखरा रंगशालालाई आफ्नो गृह मैदान (होम ग्राउण्ड) बनाएपछि पोखराले यस्तो अवसर पाएको हो।  

पहिलो खेल आगामि शनिबार पोखरा रंगशालामा हुनेछ। जसमा होम ग्राउण्ड रोज्ने मनाङमस्र्याङ्दी र नेपाल पुलिस क्लव आमनेसामने हुनेछन्। त्यस्तै, सातौं चरण अन्तर्गत पुस १७ गते मनाङले काठमाडौंको ब्रिगेड ब्वाईज र आठौं चरण अन्तर्गतको पुस २४ गते काठमाडौंकै च्यासल क्लवसँगको खेलपनि पोखरा रंगशालामै हुने एन्फाले जनाएको छ।

मनाङमस्र्याङ्दीले होम ग्राउण्ड रोजेपनि पोखरा रंगशालामा हुन लागेको खेल ‘होम एण्ड अवे’ अन्तर्गतको भने होइन। किनभने अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘होम एण्ड अवे’का आधारमा खेलाउन थालिसकेको छैन। ‘होम एण्ड अवे’का आधारमा खेलाउन सबै टीमको होम ग्राउण्ड हुनुपर्छ तर अहिलेसम्म नत लिग खेलिरहेका क्लवहरुले होम ग्राउण्ड बनाएका छन् नत एन्फाले नै त्यसरी खेलाउने तयारी गरेको छ।  

सहिद स्मारक ए डिभिजन लिग निर्देशक सञ्जीव मिश्र भन्छन्, ‘मनाङमस्र्याङ्दीले पोखरा रंगशालालाई होम ग्राउण्ड बनाएको त हो, तर अहिले हुन गइरहेको खेल ‘होम एण्ड अवे’ अन्तर्गतको भन्न मिल्दैन। किनकी हामी त्यो फम्र्याटमा गइसकेका छैनौं।’

एन्फाले पोखरामा हुने खेललाई नयाँ प्रयोग भनेको छ। ‘देशभरका फुटबल फ्यानहरुले सहिद स्मारक लिगको अपनत्व महसुस गरोस् भनेर हामीले पोखरामा लिगका खेलहरु खेलाउन लागेका हौ,ं’ निर्देशक मिश्रले भने। यसले क्लवलाई बलियो बनाउन सहयोग पुग्ने उनको भनाई छ।

काठमाडौंका दशरथ रंगशाला, जाउलाखेल, एन्फा कम्प्लेक्सलगायतका ७ ठाउँमा भइरहेको अधिकांश खेल फ्लर्ड लाइटमा खेलाईंदै आइएको थियो। तर पोखरामा हुने खेल भने फ्लर्ड लाइटमा हुने छैन। पोखरा रंगशालामा फ्लर्ड लाईट राखिने भएपनि राखिनसकेकाले पोखरामा हुने खेल दिउँसो खेलाईने निर्देशक मिश्रले बताए।

इतिहासमै पहिलोपटक काठमाडौं बाहिर पोखरामा हुन लागेको खेलमा दर्शक नहुने हो कि भनेर चिन्ता एन्फामा देखिएको छ। इद्दपी दर्शक आउनेमा आफूहरु आशावादी रहेको निर्देशक मिश्रले बताए। ‘काठमाडौंमा भएका खेलहरुमा दर्शक सहभागिता यसपटक एकदमै राम्रो छ, हामी यसपटक सन्तुष्ट छौं, पोखरामा पनि मौसम राम्रो छ, कोरोनाको मारपनि खासै छैन, त्यहि भएर राम्रो दर्शक आउने अपेक्षा गरेका छा,ै’ उनले भने।

मनाङमस्र्याङ्दी क्लवका ब्यबस्थापक बिजय घलेले आफुहरुलाई समर्थन जनाउन पोखरेली दर्शक आउने विश्वास व्यक्त गरे। ‘होम एण्ड अवे’ अन्तर्गतको खेल नभएपनि त्यसको शुरुवातका लागि भएपनि होम ग्राउण्डका रुपमा हामीले पोखरा रंगशालालाई रोजेका हौ, उनले भने, ‘पोखरा स्पोर्ट्सको राजधानी हो, हाम्रो (मनाङमस्र्याङ्दी) आफ्नै फ्यानहरु पनि छन्, त्यसले दर्शक आउनुहुन्छ भन्ने विश्वास छ।’ उनले यसपटक दर्शक आएपनि वा नआएपनि पोखरा रंगशालालाई होम ग्राउण्ड बनाउने निर्णय परिवर्तन नहुने उनले प्रष्ट्याए।

कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की)का अध्यक्ष मीलन गुरुङले लिगको खेल पोखरा आउनु नै ठूलो कुरा भएको बताए। उनले लिगलाई सफल बनाउन आफूहरुले शतप्रतिशत प्रयास गरिरहेको उल्लेख गरे।

पोखरामा हुने खेलको सम्पूर्ण खर्च र आम्दानी मनाङमस्र्याङ्दीको हुने एन्फाले जनाएको छ। पोखरामा हुने खेलको टिकट दर एक सय र तीन सयको तोकिएको छ। काठमाडौंमा भने तीन सय र पाँच सय निर्धारण गरिएको थियो। खेल खेलाउँदा फिफा र एएफसीको प्रोटोकल अवलम्वन गर्ने एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए। पोखरा रंगशालामा शनिबार हुने खेल खेल्न मनाङमस्र्याङ्दी र नेपाल पुलिस क्लवका खेलाडीहरु पोखरा आइसकेका छन्। उनीहरु बुधबार अपराह्न पोखरा आइपुगेका हुन्।

प्रकाशित: १ पुस २०७८ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App