४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीः मल्ल हटाइए,लामिछानेलाई कप्तानी

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गर्दै स्पिनर सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेबारी दिएको छ।

बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित,उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो। त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।

‘नेपाल क्रिकेट संघले गठन गरेको छानबिन समितिको सिफारिसबमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा संलग्न कप्तान ज्ञानेन्द्रसहित उपकप्तान ऐरी,तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरिएको छ’,क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

क्यानले ४ खेलाडीले वार्षिक वर्गीकरणमा असन्तुष्टि जनाउँदै त्यसबारेमा प्रचारबाजी गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। तर खेलाडीले स्पष्टीकरणको सट्टा क्यानलाई नै ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए।

क्यानले यसबारेमा छानबिन गर्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिको सिफारिसमा कारबाही गरिएको हो।

‘क्यानसँग खेलाडीको केही असहमति भए त्यहाँ आएर कुरा राख्नुपर्थ्यो,’ मल्लले भने, ‘तर खेलाडीले त्यसको सट्टा खेलाडीको वार्षिक वर्गीकरणलाई लिएर प्रचारबाजी गरे। हामीले उनीहरूलाई सचेत गराउन स्पष्टीकरण सोध्यौं।

त्यसको सट्टा उनीहरूले क्यानलाई ११ बुँदे ज्ञापनपत्र बुझाए। हामीले उनीहरूलाई दोस्रो पटक स्पष्टीकरण सोध्यौं तर त्यसमा पनि चित्त बुझ्दो जवाफ नआएपछि उनीहरूलाई कारबाही गरिएको हो। यो हाम्रो रहर होइन,बाध्यता हो।’ यसबारे प्रतिक्रिया लिन खोज्दा चारैजना खेलाडी सम्पर्कमा आएनन्। सन् २०१९ नोभेम्बरमा तत्कालीन कप्तान पारस खड्काले पदबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेपाली क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी पाएका थिए।

यता यी ४ खेलाडीमाथि भएको कारबाहीविरुद्ध ऋषिराम गौतम, करण महतरा,अमितबाबु पाण्डे, छुम्बी लामा,सञ्जय सिंह र दाउद अन्सारी गरी ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट लेखेर विरोध जनाएका छन्।

त्यस्तै बैठकले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण डिसेम्बर २१ बाट पोखरामा सुरु गर्ने,नेपाल प्रशिक्षक संघलाई मान्यता दिने र नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: १ पुस २०७८ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App