२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

नेपाल भलिबल संघले अरूणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक गरेको छ। लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनीषा चौधरीले टोलीमा पुनरागमन गरेका छन्।

करिब एक महिनाको प्रशिक्षणपछि केही अनुभवी खेलाडीसहित मुख्य प्रशिक्षक जगदीश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा तयारीलाई तीव्रता दिइरहेका छन्। साबिक विजेताका नाताले नेपाललाई उपाधि रक्षा गर्नु छ। सो अनुसार टोलीले कडा मिहिनेत गरिरहेको छ। कोरोना महामारीका कारण तय भएका केही अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता स्थगित हुँदा लामो समयपछि कोर्टमा फर्किएका खेलाडीमा सुरुआती चरणमा फिटनेस समस्या देखिए पनि अहिले टोली लयमा फर्किएको नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले बताए।

‘सुरुआती चरणमा नेपाली टोलीमा केही फिटनेसको समस्या देखिएको थियो। लामो प्रयासपछि टोली अहिले लयमा आइसकेको छ। पछिल्लो दुई वर्षयता नेपालले अन्तर्राष्ट्रिय सहभागिता नजनाए पनि प्रतियोगितामा सहभागी अन्य टोली नेपालकै स्तरका छन्,’ महिला टोलीका मुख्य प्रशिक्षक भट्टले भने। आइतबार सार्वजनिक गरिएको टोली अघिल्लो संस्करणमा उपाधि जित्दाको भन्दा बलियो भएको प्रशिक्षक भट्टले दाबी गरे।

‘अन्तर्राष्ट्रिय सहभागिता न्यून भएको अवस्थामा नेपाललाई फेरि एक पटक स्वर्ण दिलाउन सकिने तरिकाले लागिपरेका छौं। विगतको भन्दा अहिले राम्रो टोली बनेको छ। तयारी र प्रशिक्षणमा रहेका खेलाडीको प्रदर्शनलाई हेर्दा हामी उपाधिका हकदार छौं,’ प्रशिक्षक भट्टले थपे, ‘टोलीमा भएका कमीकमजोरीलाई सूक्ष्म अध्ययन गरेर सुधारका लागि वर्कआउट भइरहेको छ। स्पाइक, डिफेन्स र ब्लकमा राम्रो हुनुपर्ने हुन्छ। तीनमध्ये हामीले स्पाइक र ब्लकलाई राम्रो गर्ने लक्ष्य राखेका छौं।’

डिसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगितमाा नेपालसहित माल्दिभ्स, श्रीलंका, आयोजक बंगलादेश, किर्गिस्तानले सहभागिता जनाउने भनिए पनि केही टोलीको टुङ्गो अझै लागेको छैन। उज्बेकिस्तानले पनि सहभागिता जनाउने भनिए पनि अझै निर्णय भइसकेको छैन। नेपाली टोलीकी कप्तान अरूणा शाहीले चार टोलीसँग यसअघिका खेलमा प्रतिस्पर्धा गरेकाले यो संस्करणमा अनुभवले काम गर्ने बताइन्। सोही कारण कप्तान शाहीले उपाधिलाई नै लक्ष्य बनाएर अभ्यास गरिरहेको बताइन्।

‘यसअघि हामी च्याम्पियन भएका थियौं र अहिलेको लक्ष्य पनि च्याम्पियन हुने नै छ। हामीले सहभागी हुने चारै टोलीसँग खेलिसकेका छौं,’ कप्तान शाहीले भनिन्, ‘श्रीलंकासँगको खेल प्रतिस्पर्धात्मक बनेको थियो। प्रतियोगितामा किर्गिस्तान नयाँ टोली रहनेछ। किर्गिस्तानी टोलीको प्रदर्शनलाई पनि अध्ययन गरिरहेका छौं। नयाँ र अनुभवी खेलाडी भएकाले राम्रो प्रदर्शन गर्दै उपाधि रक्षा गर्नेमा आशावादी छौं।’

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा राम्रो गर्दै प्रशंसा पाएको नेपाल डिफेन्डिङ च्याम्पियन भएकाले राम्रो तयारी गर्नुको विकल्प छैन।

प्रकाशित: २७ मंसिर २०७८ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App