१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

जयरामलाई पहिलो सूर्य नेपाल ओपन उपाधि

सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत पहिलो सूर्य नेपाल काठमाडौं ओपनको उपाधि व्यावसायिक गल्फर जयराम श्रेष्ठले जितेका छन्।

सिजनको पहिलो प्रतियोगितामा उपाधि उचालेसँगै जयराम करिअरमै पहिलो पटक च्याम्पियन भएका हुन्। रोयल नेपाल गल्फ क्लबमा बिहीबार जयरामले नेपाल नम्बर १ भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै उपाधि उचालेका हुन्।

च्याम्पियन जयरामले उपाधिसहित १ लाख १० हजार रूपैयाँ हात पारे। चारदिने प्रतियोगिताअन्तर्गत जयरामले अन्तिम दिन ४ अन्डर ६४ सहित समग्रमा ९ अन्डर २ सय ६३ स्कोर गरे।

यस्तै भुवन नगरकोटीले अन्तिम दिन २ अन्डर ६६ स्कोर गर्दा समग्रमा ७ अन्डर २ सय ६५ अंक जोड्दै दोस्रो भएर नगद ७४ हजार रूपैयाँ प्राप्त गरे। तेस्रो स्थान हासिल गरेका दिनेश प्रजापतिले इभन पार ६८ सहित समग्रमा ५ अन्डर २ सय ६७ स्कोर बनाए।

प्रजापतिले नगद ६० हजार रूपैयाँ हात पारे। समग्रमा ३ अन्डर २ सय ६९ स्कोरसहित रवि खड्का,कुमार कामी र भुवनकुमार रोक्का संयुक्त रूपमा चौथो भए। चौथो भएका सबैले जनही ४२ हजार रूपैयाँ हात पारे। यस्तै शुक्रबहादुर राई सातौं भए। शुक्रबहादुरले समग्रमा २ अन्डर २ सय ७० स्कोर गरेका थिए। शुक्रले ३२ हजार रूपैयाँ हात पारे।

तेस्रो दिनको खेलमा २ स्ट्रोकको अग्रता निकालेका रवि खड्काले चौथो दिन ४ ओभर ७२ को खराब प्रदर्शन गरे। सुरुआती तीन होल बर्डी प्रहार गरेका रविले चौथोमा इभन पार गर्दा पाँचाैँ होलमा बोगी खेपेका थिए।

एमेच्योरतर्फ १३औं सागका स्वर्ण पदक विजेता सुवास तामाङले उपाधि जिते। सुवासले समग्रमा २ अन्डर २ सय ७० स्कोर गरे। अन्तिम दिन सुभासले इभन पार ६८ स्कोर गरेका थिए। यस्तै निश्चयजंग रायमाझीले एमेच्योरको उपविजेताको  उपाधि थापे।

चारदिने प्रतियोगितामा कुल ५५ गल्फरले सहभागिता जनाएका थिए। जसअन्तर्गत ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी थिए। प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख ४० हजार रूपैयाँ रहेको थियो।

प्रकाशित: २४ मंसिर २०७८ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App