७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालको सपना अधुरो

संयुक्त अरब इमिरेट्स (युएई) सँगको निर्णायक खेलमा आइतबार स्तब्ध भएपछि नेपालको आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायर खेल्ने सपना अधुरै रहेको छ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा युएईसँग ४८ रनले स्तब्ध भएपछि नेपालको ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटको यात्रा एसियाली छनोटमै सीमित भएको हो। आफ्ना लागि चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सामना गर्‍यो।

दोस्रो चरणमा पुग्न नेपालले युएईलाई १८.५ ओभरभित्रै हराउनुपर्ने समीकरण थियो। तर, १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमै समेटिएपछि आगामी चरणको यात्रा समाप्त भयो। जितसँगै आयोजक राष्ट्र युएई ६ टोली समावेश छनोटमा अंकतालिकाको शीर्षमा रहँदै ग्लोबल छनोटमा स्थान बनाउन सफल भयो।

शीर्ष टोलीले मात्र आगामी चरणको यात्रा तय गर्ने प्रावधान थियो। यता, नेपाललाई हराएको हङकङ दोस्रो स्थानमा उक्लिँदा दुई खेलमा पराजित नेपाल भने तेस्रो स्थानमा रह्यो। आइतबार भएका तीन खेलमध्ये हङकङले कुवेतलाई ३५ रनले हराउँदै दोस्रो भयो भने मलेसियाले भुटानलाई ११ रनले हरायो। युएईको बलिङसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्। नेपालका लागि दुई ब्याटर मात्र दोहोरो अंकमा रन बटुल्न सफल भए। इन्दु बर्माले १५ रन र सीता रानामगरले १३ रन बनाए।

अनुभवी मानिएकी कप्तान रुविना क्षत्री २ रनमै पवेलियन फर्किइन्। ५.३ ओभरमा नेपालले ३२ रन जोड्न दुई विकेट मात्र गुमाएको थियो। तर, नेपालले ४७ रन जोड्दा बाँकी आठ विकेट नै गुमायो। युएईकी बलर समैरा धर्निधरकाले चार विकेट लिँदै नेपालको इनिङ धराशयी पारिन्। चार ओभर बलिङ गरेकी समैराले ५ रन मात्र खर्चिन्। खुसी शर्मा र चमानी सेनेभिरत्नेले समान २/२ विकेट लिँदा चया मुगलको नाममा एक विकेट रह्यो। युएईका सबै बलरले किफायती बलिङ गरे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय २८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। पहिलो ओभरमा नै बलर कविता कुँवरले युएईकी ओपनर ईशा ओजालाई ४ रनमा बोल्ड गदै नेपाललाई राम्रो सुरुआत दिलाइन्।

तर, दोस्रो विकेटका लागि थिर्था शतीश र काभिसा इगोडागेले ५८ रनको साझेदारी गर्दै युएईको इनिङ समाले। स्पिनर संगीता राईले काभिसालाई २२ रनमा पवेलियन फर्काउँदै उक्त साझेदारी तोडिन्। त्यसपछि थिर्थाले तेस्रो विकेटका लागि चमानी सेनेभिरत्नेसँग ४९ रनको साझेदारी गर्दै युएईलाई मजबुत योगफलतर्फअग्रसर गराइन्। थिर्थालाई ४७ रन बनाएर आउट भइन्। सीता रानामगरले थिर्थालाई ४७ रनमा पवेलियन फर्काइन्। चमानीले ५२ रनको अर्धशतकीय इनिङ खेल्दै युएईको इनिङ उकासिन्। ३६ बल खेलेकी चमानीको इनिङमा सात चौका थियो।

अन्तिम तीन ओभरमा युएईले तीन विकेट गुमाएको थियो। नेपालको बलिङमा कविता कुँवरले दुई विकेट लिँदा सबनम राई, संगीता राई र सीता रानामगरले १/१ विकेट लिए। नेपालकी ओपनर सीता रानामगर प्लेयर अफ दी टुर्नामेन्ट भइन्। उनले ५ खेलमा एक सय रन जोड्नुका साथै ६ विकेट लिएकी थिइन्।

प्रकाशित: १३ मंसिर २०७८ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App