१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लुम्बिनीलाई तेस्रो सफलता

कप्तान देव खनाल चम्किएपछि लुम्बिनी प्रदेशले वाइवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्दा गण्डकी प्रदेशले भने पहिलो सफलता प्राप्त गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशमाथि तीन विकेटको जित निकाल्दै लुम्बिनीले जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गर्दा गण्डकीले भने कर्णाली प्रदेशमाथि तीन विकेटको जित रचेको हो। चार खेलमा तीन जित निकालेको लुम्बिनीले फाइनलको सम्भावना पनि कायमै राखेको छ। १ सय ९४ रनको लक्ष्य लुम्बिनीले ४६.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्दा कप्तान देवले ६७ रनको अर्धशतकीय इनिङ खेले। ९९ बल खेलेका ओपनर देवले सात चौका र एक छक्का हिर्काए। उनी प्रतिश जिसीको बलमा चौथो विकेटका रूपमा आउट भए।

राम्रो सुरुआत गरेको लुम्बिनीका लागि प्रज्वल थापाले ३४ रन बनाउँदा वासिर अहमद ३१ रनमा अविजित रहे। वासिरले ३५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। थापाको इनिङमा भने चार चौका र एक छक्का थियो। तल्लो क्रमका मोहम्मद हुसेनले १२ रनको इनिङ खेल्दै लुम्बिनीको जितमा दरिलो साथ दिए। बागमतीका गौतम केसीले तीन विकेट लिँदा प्रतिस जिसी, क्रिस कार्की र तिलक भण्डारीले १/१ विकेट निकाले। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ४७.१ ओभरमा नै समेटिँदा १ सय ९३ रन मात्र बनाउन सफल भयो।

खराब सुरुआत गरेको बागमतीले १७.४ ओभरमा मात्र ४७ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। तर, विवेक मगरले ४० रन, प्रशान्त महतले ३६ रन र विपिन शाहीले २४ रनको इनिङ खेलेपछि बागमती सम्मानजनक योगफलतर्फ अग्रसर भयो। लुम्बिनीका विशालविक्रम केसीले सर्वाधिक चार विकेट लिँदा मोहम्मद हुसेन र कमल वलीले समान दुई विकेट निकाले। दुर्गेश गुप्ता र राहुल चौधरीको नाममा १/१ विकेट रह्यो। शनिबार नै भएको अर्को खेलमा गण्डकीले कर्णाली प्रदेशमाथि तीन विकेटको जित रच्दै प्रतियोगितामा पहिलो सफलता निकाल्यो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १ सय १४ रनको झिनो लक्ष्य पछ्याएको गण्डकीले २६.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो। गण्डकीको जितमा दीपक डुम्रेले सर्वाधिक ३४ रन जोड्दा उत्सव श्रेष्ठले २६ रनको योगदान गरे। अर्जुन कुमालले १४ रन र सुजन गौतमले १३ रन बनाउँदै गण्डकीलाई जित दिलाउन मद्दत गरे। कर्णालीको बलिङमा सन्दीप शाही र निश्चल रावलले समान दुई विकेट निकाल्दा अनुज चुनारा, रूपक दाहाल र दिनेश पुनले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा १ सय १३ रनमै अलआउट भयो। कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक २६ रन जोड्दा अनुज चुनाराले २२ रन र रूपक दाहालले २० रनको योगदान गरे। गण्डकीका कमल परियारले चार विकेट र किरण पौडेलले तीन विकेट लिँदै कर्णालीको इनिङ ध्वस्त पारे। सुदीप अर्याल र सुवास भण्डारीको नाममा १/१ विकेट रह्यो। गण्डकीले यसअघि लगातार दुई खेलमा पराजय भोगेको थियो।

प्रकाशित: १२ मंसिर २०७८ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App