१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु: सातदोबाटोको लक्ष्यले पूर्णता पाएन

गोलका पर्याप्त अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद सुरुआत गर्ने नवप्रवेशी सातदोबाटो युथ क्लबको लक्ष्यले पूर्णता पाएन।

शुक्रबारबाट सुरु भएको यस सिजनको लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको फ्रेन्ड्स क्लबसँग सातदोबाटोले गोलरहित बराबरी खेलेको हो।

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले फिनिसिङमा चुक्दा स्पष्ट ३ अंकको हकदार भए पनि १ अंकमा चित्त बुझाउन परेको बताए।

‘हामीले खेलको सुरुआतबाटै फ्रेन्ड्सलाई दबाब राख्दै पर्याप्त गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौं,’केसीले भने, ‘मुख्य स्ट्राइकर अजई मार्टिन्सलाई विपक्षीले मार्किङमा राख्दा त्यसको फाइदा अन्य खेलाडीले उठाउनुपर्ने हो तर खेलाडीहरू त्यसमै चुके। हामीले १० पटक पोस्टमा प्रहार गर्‍यौं । तर पनि एउटा गोल गर्न सकेनौं ।’

केसीले फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले उत्कृष्ट प्रदर्शन गरेको बताए। साथै केसीले प्रशिक्षण र अभ्यास खेलको दाँजोमा टोलीले शुक्रबार निकै कमजोर प्रदर्शन गरेको बताए। ‘हाम्रा लागि शीर्ष डिभिजनमा यो पहिलो खेल थियो,केही खेलाडी पहिलो पटक राष्ट्रिय रंगशालामा उत्रिएका थिए,’ केसीले भने, ‘त्यसैले हाम्रो खेल कहिले राम्रो देखिएको थियो भने कुनै समय खेलाडी पूरै आत्तिएका जस्ता देखिन्थे।

आगामी खेलमा हामी थप सुधारिएको प्रदर्शन गर्नेछौं। आजको खेलमा स्पष्ट ३ अंक लिएको भए हाम्रा खेलाडीको मनोबल बढ्ने थियो तर पनि हामी पहिलो खेलमा एक अंक भए पनि खाता खोल्न सफल भयौं।’

३३औं मिनेटमा सातदोबाटोले अग्रता लिने अवसर पाए पनि कप्तान मानबहादुर तामाङको फ्रिकिकमा मिडफिल्डर आकाश बुढा मगरले गरेको हेडर गोल पोस्टनजिकैबाट बाहिरियो। ५७औं मिनेटमा पनि आकाशको प्रहारमा फ्रेन्ड्सका गोलकिपर रामचन्द्र बाधक बने।

त्यसको २ मिनेटपछि नै फ्रेन्ड्सले खाता खोल्ने अवसर पाएको थियो तर नाथनलिन जुड गार्सियाको प्रहार बारमा लागेर फर्किएको थियो।६६औं मिनेटमा पनि फ्रेन्ड्सले गोलको अवसर पाएको थियो तर गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले मुस्किलले बचाएका थिए।

खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।

एन्थोनीले ६१औं मिनेटमा पहेँलो कार्डको दर्शन गरेका थिए । इन्जुरी समयमा सातदोबाटो ३ अंक जोड्ने संघारमा पुगेको थियो तर सुशील राईको प्रहार फ्रेन्ड्सका कप्तान सुरज विकले गोललाइनबाट क्लियर गरेका थिए।

फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले सातदोबाटोविरुद्ध पहिलो हाफमा केही दबाबमा खेले पनि दोस्रो हाफमा उनीहरूलाई दबाबमा राखेको बताए। मिश्रले गार्सियाको एउटा प्रहार बारमा लागेर फर्कनु र अर्को प्रहार गोलकिपर अभिषेक बरालले बचाउनु आफ्नो टोलीका लागि दुर्भाग्य भएको बताए।

‘हामीले सातदोबाटो युथ शीर्ष डिभिजनको नवप्रवेशी भए पनि हामीले उनीहरूलाई कमजोर टोलीका रूपमा लिएनौं। हामीले राम्रो फाइट दियौं,’ मिश्रले भने, ‘खेलाडीहरूले अनावश्यक फाउल गर्दा धेरै कार्डको दर्शन गर्न पुगे। टोलीका कप्तान प्रकाश बुढाथोकी वैवाहिक कार्यक्रमका कारण टोलीमा भएनन् । उनीजस्तो अनुभवी खेलाडी टोलीमा भएको भए सायद नतिजा अर्को आउन सक्थ्यो, तर पनि हामी एक अंक बटुल्दा पनि खुसी छौं।’

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार दुई खेल हुनेछन्। पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लब तथा दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब आमनेसामने हुनेछन्।

प्रकाशित: ४ मंसिर २०७८ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App