१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गोदावरी नकआउट चरणमा

लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दिनको दोस्रो खेलमा गोदावरीले वीरेन्द्रनगर नगरपालिकालाई १–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। लगातार दोस्रो खेलबाट स्पष्ट जित निकाल्दै गोदावरीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा गोदावरीलाई अघिल्लो चरणमा पुर्‍याउनका लागि निशा बोहोराले फ्रिकिकबाट गरेको गोल निर्णायक बनेको हो। निशाले ३२औं मिनेटमा मैदानको मध्य भागबाट हानेको फ्रिकिक बल बाउन्स हुँदै गोलमा परिणत भएको थियो।

यस जितसँगै गोदावरी २ खेलमा ६ अंक जोड्न सफल भयो। समूह ‘जी’ को गोदावरी शीर्ष स्थानमा रहेर अघिल्लो चरण पुगेको हो। पहिलो खेलमा स्पष्ट जित निकालेको वीरेन्द्रनगरले २ खेलमा ३ अंक जोडेको छ।

छनोटअन्तर्गत आइतबारै भएको दिनको पहिलो खेलमा गैंडाकोटले लिएको अग्रतालाई उल्टाउँदै तुलसीपुर नगरपालिकाले ३–२ को रोमाञ्चक जित निकाल्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गैंडाकोटले पेनाल्टीबाट अग्रता लिएको थियो। 

२६औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सुनीता भोलानले गोलमा परिणत गर्दै अग्रता दिलाएकी थिइन्। तर अग्रता धेरै समय टिकेन। ३०औं मिनेटमा तुलसीपुरका लागि मेनुका आलेमगरले बराबरी गोल फर्काउँदै टोलीलाई बराबरीको अवस्थामा ल्याइन्। ३३औं मिनेटमा तुलसीपुरले उपहार गोलबाट अग्रता पायो।

पहिलो हाफको अन्तिम मिनेटमा गैंडाकोटकी सुनीताले गोल गर्दै खेल पुनः बराबरीमा ल्याइन्। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा दीपा पुनमगरले गोल थप्दै टोलीको जित निश्चित गरिन्। जितसँगै तुलसीपुर २ खेलमा ६ अंक जोडी समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ।

प्रतियोगिताको तेस्रो खेलमा गोकर्णेश्वर नगरपालिकाले धनकुटा नगरपालिकालाई ४–० ले पराजित गर्‍यो। गोकर्णेश्वरको जितमा अनिता केसीले दुई गोल गर्दा एलिसा केसी र अनिता बस्नेतले समान एकएक गोल गरे। त्यसपछि बाँकी र थप गरिएको नौ मिनेटमा दुबै टोलीबाट थप गोल हुन नसक्दा गोकर्णेश्वरले नतिजा पोल्टामा पारेको हो।

प्रतियोगितामा सोमबार दुई खेल हुनेछन्। यससँगै समूहचरणका खेल पनि सकिनेछन्। दिनको पहिलो खेल गौरीगंगा र बराह क्षेत्रबीच हुँदा दोस्रो खेल चौदण्डीगढी नगरपालिका र धरान एसएमसीबीच हुनेछ। 

प्रकाशित: १५ कार्तिक २०७८ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App