५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

बाधा पुगे ऐन संशोधन हुन्छ: खेलकुदमन्त्री

राखेपका उपाध्यक्ष शिव कोइराला युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (दायाँ) लाई मायाको चिनो प्रदान गर्दै।तस्बिरः नागरिक

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नयाँ खेलकुद ऐनले खेलकुदको विकासमा बाधा पुग्न गएमा संशोधन वा परिमार्जन गर्न सकिने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा बुधबार आयोजित बधाई तथा स्वागत कार्यक्रमका अवसरमा मन्त्री गहतराजले खेलकुदको विकासमा बाधा पुग्ने खालाका बुँदामा संशोधन गरिन सक्ने बताएका हुन्। ‘विकास र काम गर्न सहजताका लागि नै ऐनहरू बनाइएको हो।

यो ऐन कुनै गीता, बाइबल वा कुरान होइन। त्यस कारण आवश्यक परे यसलाई परिमार्जन गर्न सकिन्छ,’ मन्त्री गहतराजले भने, ‘ऐन कार्यान्वयनका लागि हामीले चाँडै नियमावली बनाउने तयारी गरिरहेका छौं। नियमावलीमा पनि कतिपय पक्ष सुनुवाई हुनेछ। नियमावली बनेपछि हामी कानुनी रूपमा बलियो पनि हुनेछौं। त्यसपछि नीतिगत निर्णय लिन सहज हुनेछ।’

उनले खेलुकद विकास ऐन २०७५ असार ११ गते २०७७ मा लागू भए पनि नियमावली बन्न नसकेको उल्लेख गरे। ‘ऐन लागू भएको ढेड वर्ष बितिसक्यो। तर, नियमावली बन्न सकेको छैन। जसका कारण नयाँ ऐन कार्यान्वयनमा समस्या देखिएको छ। तथापि नयाँ ऐनमा परिमार्जन गर्नुपर्ने धेरैले गुनासो गरेका छन्,’ मन्त्री गहतराजले भनेका छन्। उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता जनाए। ‘सबै खेलाडी र खेलकर्मी नै मेरा सल्लाहकार हुन्। 

सामूहिक हितका लागि हुने उहाँहरूको सल्लाहअनुरूप काम गर्नेछु,’ मन्त्री गहतराजले विश्वास व्यक्त गरेका छन्। मन्त्री गहतराजले जिम्मेवारी समालेलगत्तै राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेका थिए। त्यसअघि मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले बोर्डका सदस्यलाई पनि बर्खास्त गर्ने बताएका थिए। बुधबार आफ्नो स्वागत कार्यक्रममा भने उनले सो धारणा उल्लेख गरेनन्। मन्त्री गहतराजले राखेप सदस्यसचिव र बोर्डका सदस्यको नियुक्ति प्रक्रिया फरक भएकाले नयाँ प्रक्रियाद्वारा हटाइने उल्लेख गरेका थिए।

नवनियुक्त युवा तथा  

खेलकुदमन्त्री महेश्वरजंग गहतराजको सम्मानमा बुधबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको थियो। राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी र कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष कोइरालाले चाँडोभन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुंग्याउनुपर्नेमा जोड दिए। खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे। राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नयाँ ऐनमा भएका कमी कमजोरीलाई सच्याउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: ११ कार्तिक २०७८ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App