२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आधा दशकको प्रयासपछि बन्यो कभर्ड हल

आवश्यकताअनुसार बजेट विनियोजन हुन नसक्दा ६ वर्षको प्रयासपछि मात्र इलाम नगरपालिका–५, बरबोटेमा सम्भवतः १ नम्बर प्रदेशकै ठूलो कभर्ड हल निर्माण भएको छ। निर्मित कभर्ड हलको इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङले उद्घाटन गरे।

आर्थिक वर्ष २०७२/०७३ मा तत्कालीन जिल्ला खेलकुद विकास समितिले ५ लाख रुपैयाँ बजेट छुट्याएपछि निर्माण सुरु गरिएको कभर्ड हल १ करोड २८ लाख रुपैयाँको लागतमा सम्पन्न गरिएको हो। स्थानीय अमर माध्यमिक विद्यालयको जमिनमा निर्मित हल इलाम नगरपालिकाले विद्यालयलाई हस्तान्तरणसमेत गरेको छ। मेयर महेश बस्नेतले उद्घाटनकै अवसरमा विद्यालयका अध्यक्ष गोविन्द पौडेलमार्फत् यो हल विद्यालयलाई हस्तान्तरण गरे।

कभर्ड हल बनाउन स्थानीय समाजसेवीले जग्गा र नगद सहयोग गरेका छन्। आर्थिक वर्ष २०७७/०७८ मा नेम्बाङकै निर्वाचन क्षेत्र विकास कार्यक्रमको ३६ लाख ९० हजार रुपैयाँ विनियोजित भएपछि कभर्ड हलले अन्तिम रूप पाएको अध्यक्ष पौडेलले बताए। ‘आधा दशकभन्दा अघिदेखिको बरबोटेबासीको प्रयास र यहाँका जनप्रतिनिधिले सहयोग गरेपछि हल निर्माण सम्भव भएको हो,’ उनले भने, ‘कभर्ड हल अब यो वडाको मात्र नभएर नगरकै ठूलो सम्पत्ति भएको छ।’  

नेम्बाङले आफ्नो निर्वाचन क्षेत्रमा यो हल महत्वपूर्ण संरचनाका रूपमा रहेको बताए। ‘यो निकै आवश्यक र महत्वपूर्ण संरचना निर्माण भएको छ,’ उनले भने, ‘खेलकुदका लागि मात्र होइन, इलाम नगरपालिकाको पर्यटन र अन्य आर्थिक विकासमा समेत यसले सहयोग पुर्याउँछ।’

प्राविधिक सहयोग गरेको इलाम नगरले कभर्ड हलका लागि २ आर्थिक वर्षमा गरी २३ लाख रुपैयाँ लगानी गरेको छ। ३५.५३ मिटर लम्बाई र १६.९६ मिटर चौडाईको यो कभर्ड हल सम्भवतः १ नम्बर प्रदेशकै ठूलो भएको मेयर महेश बस्नेतले बताए। ‘खेलकुदका माध्यमबाट यहाँको विकासमा सहयोग पुर्याउन कभर्ड हल निर्माण गरिएको हो,’ उनले भने, ‘मानसिक र शारीरिक स्वास्थ्य तन्दुरुस्त बनाउन, पर्यटकीय विकास गर्न र वडाको आर्थिक वृद्धिमा सहयोग गर्न कभर्ड हल महत्वपूर्ण माध्यम बन्ने विश्वास छ।’

कभर्ड हलका लागि तत्कालीन जिल्ला विकास समितिबाट २ लाख, बरबोटे गाउँ विकास समितिबाट साढे ५ लाख, पूर्वसांसद् केशव थापाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १५ लाख, विनोद श्रेष्ठ र अन्य स्थानीयबाट २२ हजार, खेलकुद विकास समितिबाट पुनः १० लाख र सहरी विकास तथा भवन निर्माण डिभिजनबाट २५ लाख रुपैयाँ संकलित भएको कभर्ड हलको उपभोक्ता समितिका पूर्वअध्यक्ष काजीबहादुर श्रेष्ठले बताए।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ र स्थानीय अगुवा सटेन्द्र जबेगूले सबैको सामूहिक प्रयासमा लामो समयपछि निर्माण सम्पन्न भएको कभर्ड हल वडाको चौतर्फी विकासको आधार तयार बन्ने आशा व्यक्त गरे। ६ सय ३ वर्गमिटरमा निर्मित कभर्ड हलमा इन्डोर खेलका ३ कोर्ट सञ्चालन गर्न सकिने इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए।

प्रकाशित: १० कार्तिक २०७८ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App