१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ललितपुर नकआउट चरणमा

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा चितवनको कालिका नगरपालिकासँग १–१ को बराबरी खेल्दै ललितपुरले अंक बाँडेको थियो। चितवन र ललितपुरले आआफ्नो पहिलो खेल जित्दै शीर्ष स्थानमा बसेर समूहचरण पार गर्ने सम्भावना कायम राखेका थिए।

दुवै टोलीले कागेश्वरी मनोहरा नगरपालिकालाई समान १०–० को अन्तरले हराएका थिए। दुवै टोलीको समान २ अंक थियो। त्यसैले सोमबार आमनेसामने हुँदा दुवै टोलीको लक्ष्य स्पष्ट तीन अंकका साथ समूह विजेता बन्ने थियो।

पहिलो हाफको अन्तिम मिनेटमा रजनी थोकरको गोलमा ललितपुरले अग्रता लियो। ६१औं मिनेटमा निशा थोकरको गोलमा कालिका खेलमा फर्कियो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो।

दुवै टोलीको समान ४ अंक गोलअन्तर पनि समान १० नै थियो। प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले विभागका तीन खेलाडी मात्र मैदान उतार्न पाउँछन्। तर कालिकाले सोमबार ललितपुरविरुद्ध एन्जिला तुम्बाप्पो सुब्बा, निशा थोकर, प्रीति राई, सविता रानामगर र अनुस्का शेर्पालाई खेलाएका थियो।

विभागका पाँच खेलाडी खेलाएको भन्दै कालिका कारबाहीमा परेपछि ललितपुरले समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनायो। यता पहिलो खेलमा कागेश्वरी मनोहरालाई हराएको कालिकाले सो खेलमा जोडेको तीन अंकसमेत गुमायो।

दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको कागेश्वरी मनोहरा नगरपालिकाले समूह चरणको अन्तिम खेलमा ३ अंक उपहार पायो।

यसअघि सोमबार भएको दोस्रो खेलमा पनि बागमती प्रदेश र कान्काई नगरपालिकाले १–१ को बराबरी खेलेका थिए। समूह ‘ए’ मा समान अंक बनाए पनि कन्काई गोलअन्तरमा माथि रहँदै शीर्ष टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो।

त्यस्तै सोमबार भएको पहिलो खेलमा प्रतियोगिताको सुखद अन्त्य गर्ने क्रममा गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिमामाथि ५–३ को जितका साथ प्रतियोगिताको सुखद अन्त्य गरेको थियो।

गोदावरीका लागि दावा डोल्मा लामा र एस्टर तामाङले समान २ तथा यानजोम रोकायले १ गोल गरे। महालक्ष्मी नगरपालिकाका लागि सरु राईले २ र पूजा लामाले १ गोल गरे पनि टोलीलाई हारको संघारबाट जोगाउन सकेनन्।

मंगलबार पहिलो खेल समूह ‘सी’ का भक्तपुर नगरपालिका र पुतलीबजार नगरपालिकाबीच हुनेछ। दुवै टोली समूह चरणबाटै बाहिरिसकेका छन्। यस समूहबाट आइतबार बर्दियाको बाँसगढी नगरपालिका ६ अंकसहित समूहविजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ।

दोस्रो खेल समूह ‘डी’ का देवचुली र जानकी नगरपालिकाबीच हुनेछ। दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन्। यस समूहबाट आइतबार झापाको शिवसताक्षी नगरपालिकाले नकआउटमा स्थान पक्का गरिसकेको छ।

मंगलबार हुने अन्तिम खेलमा समूह ‘इ’ अन्तर्गत रोङ गाउँपालिका र सिमकोट गाउँपालिकाबीच हुनेछ। सिमकोटको यो पहिलो खेल हो। यसअघि आइतबार काठमाडौं महानगरपालिका र रोङ गाउँपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ। जसअन्तर्गत समूह ‘ए’ मा ४ टोली छन् भने बाँकी ९ समूहमा समान ३ टोली छन्। प्रत्येक समूहको विजेताले नकआउट चरणमा स्थान बनाउनेछ।

नकआउट चरणका खेल कात्तिक २२ गतेबाट सुरु हुँदै छ। प्रतियोगिताको विजेता र उपविजेताले पुसमा हुने राष्ट्रिय महिला लिगमा स्थान पक्का गर्नेछन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रूपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ९ कार्तिक २०७८ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App