१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्ष नियुक्त

खेलकुद विकास बोर्ड प्रदेश १ ले १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ। बोर्डले नियुक्त गरेका जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा सपथ ग्रहण गराइएको थियो।

सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेल क्षेत्रले फड्को मार्ने बताए। लामो समयदेखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा खेलकुदका गतिविधिहरु हुन नसकेको उनले बताए।  

‘खेलकुद बोर्ड गठन गर्न ढिला गरे पनि राम्रो टिमले नेतृत्व गर्न पाएको छ,’ मन्त्री साम्सोहाङले भने, ‘खेलाडी र खेल आवद्ध पक्षसँगको समन्वयमा अघि बढ्दै जाने र खेलकुदको विकासका लागि योजना बनाएर जाने छौं।’ प्रदेश १ को पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने एउटा राम्रो माध्यम भनेको खेलकुद हो। 'हामीले खेल र खेलाडीको स्तर वृद्धि गर्दै लैजानु पर्छ र मन्त्रालय त्यसका लागि तयार रहेको छ', मन्त्री साम्सोहाङले भने ।    

त्यसैगरी, खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)लामो समयदेखि नेतृत्वविहीन खेलकुद समितिहरुमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले संघीयताको संरचनामा अहिलेसम्म खेलकुदका कर्मचारीहरु नपुग्नु दुखद् भएको बताए। 'संघीय संरचना अनुसारको प्रशिक्षक, कर्मचारी नियुक्त गर्नका लागि पहल गरेका छौं', बस्नेतले भने, ‘खेल र खेलाडीको विकासका लागि प्रदेश बोर्डले विशेष योजनासहितको वार्षिक क्यालेन्डर निकालेर काम गर्ने छ।’

ताप्लेजुङको अध्यक्ष मणिशंकर पौमु, उपाध्यक्ष रूप लिम्बू, पाँचथरको अध्यक्ष विनोद आङ्देम्बे, उपाध्यक्ष शान्ति राई, इलामको अध्यक्ष उमेश गुरुङ, उपाध्यक्ष कुमारी राई, झापाको अध्यक्ष चन्द्र प्रसाईं, उपाध्यक्ष तुलसा प्रधान उप्रेती, मोरङको अध्यक्ष रोहित कोइराला, उपाध्यक्ष सीता राय, सुनसरीको अध्यक्ष घनश्याम बुढाथोकी, उपाध्यक्ष अन्जु पाण्डे नियुक्त भएका छन्। त्यस्तै धनकुटाको अध्यक्ष भोगेन्द्र थापा, उपाध्यक्ष पालमु शेर्पा, तेह्रथुमको अध्यक्ष केशव भट्टराई, उपाध्यक्ष तारा कार्की गुरुङ, संखुवासभाको अध्यक्ष धु्रव खड्का, उपाध्यक्ष सुनिता गुरुङ, भोजपुरको अध्यक्ष प्रकाश बस्नेत, उपाध्यक्ष विनीता राई, खोटाङको अध्यक्ष रमेश राई, उपाध्यक्ष मकाजु श्रेष्ठ, सोलुखुम्बुको अध्यक्ष डाकबहादुर रानापाल, उपाध्यक्ष डिकमाया सुनुवार, ओखलढुंगाको अध्यक्ष नारायणकाजी राई, उपाध्यक्ष विना केसी र उदयपुरको अध्यक्ष सागर नेपाल, उपाध्यक्ष मनकुमारी राईलाई प्रदेश खेलकुद बोर्डले नियुक्त गरेको हो।  

पदभार ग्रहण गर्दै मोरङ जिल्ला खेलकुद विकास सममितिका अध्यक्ष रोहित कोइरालाले भने, 'लामो समयदेखि मोरङको खेलकुदसँग नजिक हुँदै आएको व्यक्ति हुँ। हिजोका पदाधिकारी र कर्मचारीसँग सम्बन्ध र सहकार्य गर्दै अघि बढ्ने र प्रशिक्षक, कर्मचारी, खेलाडीलगायत खेलकुदसँग आवद्ध भएका सबै पक्षलाई समेटर, सहमति सहकार्यका साथ ऐतिहासिक काम गर्ने छु।'

प्रकाशित: ४ कार्तिक २०७८ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App