७ वैशाख २०८१ शुक्रबार
खेल

खेलकुद पूर्वाधार र सामानलाई बजेट

संघहरुले सामानको लागि निवेदन दिदैंः उपाध्यक्ष गुरुङ

दुईवर्ष अघि देखि नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा शुरु भएको थियो । कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो।  

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पूर्वाधार र आवश्यक खेल सामाग्रीको लागि बजेट छुट्टाईसकेको छ । पूर्वाधारको लागि दुई करोड रुपैयाँ छ । संघहरुलाई आवश्यक सामाग्री उपलब्ध गराउन मन्त्रालयले ५० लाख रुपैयाँ राखेको गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए ।  

‘पूर्वाधारको लागि २ करोड रुपैयाँ छ,’ उनले भने, ‘नवौं राष्ट्रिय खेलकुदको मिति तय भएपछि संघहरुलाई सामान खरीद गरेर उपलब्ध गराउछौं ।’ उनका अनुसार मिति तय नहुदाँसम्म संघहरुलाई सामान उपलब्ध गराउन बजेट निकासा हुने अवस्था छैन् । ‘मिति तय भएपछि संघहरुबाट प्राप्त निवेदन अनुसार आवश्यक सामान खरिद गरेर मन्त्रालयले उपलब्ध गराउँछ,’ उनको भनाई थियो ।  

केही संघहरुले आवश्यक सामानको सूचीसहित मन्त्रालयमा निवेदन पेश गरिसकेको उनले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ३६ वटा खेल समावेश हुने छन् । मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरुको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ । संघहरुलाई आवश्यक सामाग्रीसहित प्रशिक्षक समेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषदको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

‘अहिले देखि नै तयारी गरिएन भने अपेक्षा अनुसारको रिजल्ट आउन सक्दैन्,’ उनले भने, ‘त्यसैले पनि पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई फोकसन गर्नुको विकल्प छैन् ।’ बास्केटबल संघ कास्कीका अध्यक्ष समेत रहेको गुरुङले बास्केटबल कोर्ट मर्मतको लागि मन्त्रालयले ५ लाख रुपैयाँ छुट्टाएको जानकारी दिए ।  

केही खेलहरु भने प्रशिक्षण हुदैं आएको छ । मार्शल आर्टका खेलहरु व्यक्तिगत रुपमा प्रशिक्षण हुदैं आएको छ । तर समूहगत प्रशिक्षण भने अझै गरिएको छैन् । कोरोनाको दोहोरो खोपपछि मात्रै समूहगत प्रशिक्षण गराईने कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बताए । ‘व्यक्तिगत प्रशिक्षण भईरहेको छ । तर समूहगत प्रशिक्षण भएको छैन्,’ उनले भने, ‘समूहगत प्रशिक्षण तिहारपछि मात्रै गराउने योजनामा छौं ।’ अध्यक्ष गुरुङले तेक्वान्दो संघले आवश्यक सामानको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँग प्रस्ताव पेश नगरिएको बताए ।  

‘सामानको विवरणसहित निवेदन दिईसकेका छैनौ,’ उनले भने, ‘सामानसँगै प्रशिक्षकको खाँचो छ ।’ उनले तेक्वान्दो खेल प्राविधिसँग जोडिदैं गएको उल्लेख गर्दै ‘सेन्सर’ उपकरण आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सेन्सरको प्रयोग हुन्छ । खेलाडीले हानेको किकको आधार सेन्सरकै कारण नम्बर आउने गर्छ । ‘हामीलाई अहिले आवश्यकता भनेकै सेन्सर(उपकरण) हो,’ उनले भने, ‘अरु सामान व्यवस्था भएको छ ।’  

अध्यक्ष गुरुङले प्रशिक्षकको समेत आवश्यक औल्याए। अन्तर्राष्ट्रिय नियमहरुमा भएको परिवर्तनले प्रविधिमा अपटेड भएको प्रशिक्षक खाँचो रहेको उल्लेख गरे। ‘हामीसँग प्रशिक्षक छन्। प्रशिक्षकहरु अब प्रविधि मैत्री हुनुपर्छ। एडभान्स ट्रेनिङ दिने प्रशिक्षक चाहिन्छ,’ उनले भने, ‘भइरहेका प्रशिक्षकहरु पनि अपटेड बन्नुपर्छ।’ प्रशिक्षकलाई अपटेड बनाउने जिम्मा संघसँगै राष्ट्रिय खेलकुद परिषदले पनि गर्नुपर्नेमा उनको जोड थियो।  

कतिपय खेलका आवश्यक पूर्वाधार तयार भएपनि पूर्ण रुपमा प्रयोगमा आउन सकेको अवस्था छैन्। कास्की जिल्ला ह्याण्डबल संघले आउटडोर कोर्ट बनाएको छ। आउटडोर कोर्टको लागि अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको सहयोगको आउटडोर ह्याण्डबल म्याट सहयोग स्वरुप दिएको छ। ‘आउटडोर म्याट फ्रान्सबाट आउँदैछ । ‘हामीले आउटडोर म्याटको लागि लकडाउन अघि नै प्रक्रिया गरेका थियौं। अबको केही समयपछि आईपुग्छ,’ कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र थापाले भने, ‘म्याट आएपछि  महिला र पुरुष ह्याण्डबल प्रतियोगिता आयोजना गर्न सहज हुनेछ ’ उनका अनुसार नौ एमएमको म्याट आउने छ। उनले संघलाई स्कोर बोर्डको खाँचो रहेको जिकिर गरे। ‘स्कोर बोर्डको खाँचो छ। त्यो नै मन्त्रालयसँग माग गर्ने हो,’ उनको भनाई थियो ।  

दुईवर्ष अघि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत ८ खेल पोखरामा आयोजना भएको थियो। सागकै कारण ह्याण्डबल, भारोत्तोलन, व्याडमिन्टन, बीच भलिबल, ट्रायथोलन, महिला क्रिकेट लगायतका खेलहरुको आवश्यक सामान आएका थिए। सागमै सामान आएकै कारण संघहरुलाई सामानको आवश्यकता भने कमै मात्रै परेको छ।  

प्रकाशित: ३ कार्तिक २०७८ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App