१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतसँग नेपाल पराजित

भारतसँग पराजित भएसँगै नेपालको एक खेलअगावै साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्ने लक्ष्यले पूर्णता पाएन।

आइतबार भएको लिगको तेस्रो खेलमा नेपालले भारतलाई १–० को नतिजा सुम्पिएको हो। ८१औं मिनेटमा सुनील क्षेत्रीले गरेको गोलमा भारतले नेपालमाथि जितका साथ फाइनल प्रवेश सम्भावना जीवित राखेको हो। पहिलो दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको नेपालले भारतविरुद्ध भने सो यात्रा कायम राख्न सकेन। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो।

भारतले नेपालमाथि जित हात पारेसँगै शीर्ष दुईमा प्रवेश गर्ने दौड पनि खुला बनेको छ। ६ अंकका साथ नेपाल शीर्ष स्थानमा छ भने माल्दिभ्स पनि समान ६ अंकका साथ दोस्रो स्थानमा छ। ५ अंक जोडेको भारत तेस्रो स्थानमा छ। ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ। ४ वटै खेल गुमाएको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भारत गरी ५ टोलीको सहभागिता रहेको प्रतियोगितामा सिंगल राउन्ड रोबिनपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल प्रवेश गर्ने शीर्ष दुई टोलीको टुङगो बुधबार हुने लिगको अन्तिम खेलबाट मात्र लाग्नेछ।

अन्तिम दिनको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दा दोस्रो खेलमा माल्दिभ्स र भारत आमनेसामने हुँदै छन्। यता भारत पहिलो खेलमा बंगलादेशसँग २–२ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा सकिएको थियो।

भारतविरुद्ध रक्षात्मक रणनीति लिएको नेपालले तीन खेलाडी परिवर्तन गरेको थियो। नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिनेश राजवंशी, सुजल श्रेष्ठ र मनिस डाँगीलाई पहिलो रोजाइमा अवसर दिएका थिए। अञ्जन विष्ट र नवयुग श्रेष्ठले भने पहिलो रोजाइमा स्थान बनाउन सकेका थिएनन्। खेलको सुरुआतबाटै रक्षाात्मक खेलेको नेपाल अधिकांश समय भारतको आक्रमण रोक्नै व्यस्त रह्यो।

३३औं मिनेटमा सुनील क्षेत्रीको प्रहार गोल पोस्टनजिकैबाट बाहिरिँदा नेपालको संकट टरेको थियो।

४२औं मिनेटमा मानवीर सिंहको प्रहार रोहित चन्दले विफल पारेका थिए। ५७औं मिनेटमा पनि भारतले अग्रताको अवसर पाएको थियो। तर प्रितम कोटलको क्रसमा मानवीरले गरेको हेडर नेपालका गोलकिपर किरण चेम्जोङले जोगाएका थिए।

७६औं मिनेटमा पनि भारतले अग्रताको अवसर पायो तर सुभाशिष बोसको प्रहार किरणले बचाएका थिए।

८५औं मिनेटमा नेपालले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। अञ्जन विष्टले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। यसअघि आइतबार भएको पहिलो खेलमा श्रीलंकालाई १–० ले हराउँदै साबिक विजेता माल्दिभ्सले फाइनल प्रवेशको सम्भावना कायम राखेको थियो।

प्रकाशित: २५ आश्विन २०७८ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App